
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको करीब १ क्विन्टल सुन सिनामंगलबाट बरामद भएपछि राजधानीबाहिर स–सानो परिमाणमा सुन बरामद हुन थालेको छ ।
यसरी राजधानीबाहिर स–सानो परिमाणको सुनको सम्बन्ध क्विन्टल सुन प्रकरणसँग त छैन ? भनेर आशंका व्यक्त हुन थालेको छ ।
विमानस्थल भन्सार बाहिरबाट करीब एक क्विन्टल सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले काठमाडौं उपत्यकाका ४ वटा गोदाममा छापा मारेको थियो ।
त्यहाँ भेटिएका ब्रेक प्याडलगायतका सवारी पार्टसबाट सुन निकालिसकेको पाइएको थियो ।
यसरी निकालिएको तस्करीको सुन कहाँ पुर्याइयो भन्ने अझै खुल्न सकेको छैन ।
यस्तो अवस्थामा राजधानीबाहिर धमाधम सुन बरामद हुनु शंकास्पद देखिएको छ ।
...
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार एक महिलालाई पक्राउ गर्यो ।
काठमाडौंबाट पोखरा गएको ग १ ख ९९४४ नम्बरको रात्रि बसमा यात्रा गरेकी जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङ २८०.३९ ग्राम अर्थात करीब साढे २४ तोला सुनसहित पक्राउ परिन् ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवण विकका अनुसार उनलाई विशेष सूचनाका आधारमा पोखरास्थित बसपार्कमा झर्नासाथ पक्राउ गरिएको थियो ।
काठमाडौंबाट एक व्यक्तिले उनलाई भरिया बनाएर पठाएको देखिएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उनलाई काठमाडौंबाट केही रकम दिएर सुन पठाएको पाइएको छ,’ डीएसपी विकले लोकान्तरसँग भने ।
ती महिलाले प्रहरीलाई बताएअनुसार पोखरामा अपरिचित व्यक्तिको फोन आएपछि उनै सुनलाई बुझाउनु भनिएको थियो ।
त्यो सुन पोखराका एक व्यापारीको भएको प्रहरीको बुझाइ छ, तर को व्यापारी हो भन्ने खुलाएको छैन ।
‘हामी अनुसन्धानमै छौं, कहाँबाट कसका लागि अनि कसरी आयो भन्ने कुरा अनुसन्धानकै विषय हो,’ कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले लोकान्तरसँग भने ।
केही दिनअगाडि (साउन २२ गते) काठमाडौंबाट दार्चुला पुगेको सु.प.प्र. ०२ ००१ ख १३०१ नम्बरको बसको पछाडि राखिएको सामग्रीमा ८३.५२० ग्राम सुन फेला परेको थियो ।
बैतडीको पाटन नगरपालिका– ८ खोडपे प्रहरी चौकीको इन्ट्री पोस्टमा गाडीका स्टाफले राखेको सामान खोतल्दा सुन बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनक धामीका अनुसार सुन कसको हो भन्ने पत्ता नगलागेपछि राजस्व अनुसन्धान कार्यालय कोहलपुर (बाँके) पठाइएको थियो ।
प्रहरीले काठमाडौंबाट गएको सुन बरामद हुन थालेपछि सय केजी सुनसँगको कनेक्सन पनि खोल्न थालेको छ । आज (बिहीवार) कास्कीबाट बरामद भएको सुन कसले पठाएको हो र कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले बताए ।
‘हामीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं, अझै केही भन्न सकिने अवस्था छैन, तर त्यो (सय केजी सुन) सँग सम्बन्ध छ कि भनेर खोज्नु अनुसन्धानको विषय हो,’ एसपी केसीले लोकान्तरसँग भने ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले पनि बरामद भएको सुनहरूको कनेक्सन खोजिने बताए ।
‘स–साना परिमाणमा सुन बरामद भएका छन्, प्रहरीले स्वाभाविकरूपमा त्यसका पाटाहरू त खोज्ने नै भयो,’ डीआईजी कडायतले लोकान्तरसँग भने ।
राजस्व अनुसन्धानले बरामद गरेको सय केजी सुनसम्बन्धी अनुसन्धानको जिम्मा आइतवारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाएको छ ।
विभागले हस्तान्तरण गरेको फाइल अध्ययन गरी सीआईबीले अनुसन्धान अगाडि बढाइसकेको छ ।
यसक्रममा शुक्रवार दुई चिनियाँ नागरिक र व्यापारी रोहन अडुकिया गरी ३ जना पक्राउ परेका छन् ।