१८ असार २०८३, बिहीबार

मुक्तिका लागि लेखकीय आन्दोलन

कात्तिक २०, २०७४
मुक्तिका लागि लेखकीय आन्दोलन

‘झण्डै आठ वर्षको उमेरसम्म लिखेले कट्टु लगाएन, सायद जरुरी थिएन होला । यही उमेरको हुँदासम्म लिखेलाई छुट्टै भोटोको पनि जरुरी भएन, किनकि उसको बाउ चाउरेको च्यात्तिएको कमिज नै उसका निम्ति पर्याप्त थियो । जीवनमा पहिलोपल्ट लिखे दमाईले आफ्ना लागि खास कपडा पायो, नौ वर्षे उमेरमा ।’

 नेपाली समाजको वर्गीय धरातल तथा जातीय भेदभावको यथार्थताको हो यो । शोषण र उत्पीडनमा गुज्रिएका तमाम भुइँमान्छेहरुकाजीवन परिधिलाई नजिकबाट नापिरहेका शरद पौडेलले ‘लिखे’ नामक दलित पात्रलाई पाठकसामु उभ्याए, र समाज रुपान्तरणको अभियानमा होमिए । माथि उद्धृत पुस्तकांश उनै शरद कृत उपन्यास‘लिखे’कोहो।

हुने-खाने ब्राम्हण परिवारमा जन्मिए शरद पौडेल। तर गाउँ बस्तीमा दलित समुदायले भोगिरहेको गरीबी र छुवाछुतको प्रताडनाले पिरोलेपछि उनी समाजमा पशुलाई भन्दा पनि निकृष्ट व्यबहार गरिएका दलित बस्ती छिरे।तीसको दशकमा जनै मिल्काएर अनेकन नाटक, गीत-संगीत, कथा, कविताको डोरो समाते शरदले । अनि संगसंगै शुरु भयो, सामाजिक न्यायका लागि लेखकीय आन्दोलन ।

मुक्तिका खातिर देशमा कैयौं आन्दोलन चले । त्यस्ता समरलेअधिकार प्राप्तिका सबक पनि सिकाएकै हुन् । तथापि,आर्थिक संवृद्धि र त्यसका लागि गरिने कर्म नसिकाउँदा त्यो अवस्था अहिलेसम्म पनि उस्तै उस्तै छ ।

पचासको दशकमा लामो समयसम्म ‘नवयुवा’ मासिक पत्रिकामा धारावाहिक रूपमा प्रकाशित‘लिखे’का दैनिकी तथा यथार्थपरक कथाहरू पाठकहरुबाट निकै रुचाइए। आम पाठकको मायालाई सम्बोधन गर्दै लेखकीय आन्दोलनको औपन्यासिक दस्ताबेज पुस्तकाकार निस्कियो- ‘लिखे’ नाममा । त्यही ‘लिखे’ उपन्यासको दोश्रो भागको रूपमा ‘तपन’ पनि सार्वजनिक भयो। वर्गीयर जातीय विभेदले आक्रान्त  समाजमा हजारौं लिखेहरूले भोगेका कठिनाइहरुको लिखत र मुक्तिका लागि गरिएका यत्नहरूले विद्रोहको रूप लिएको नेपाली इतिहासको यथार्थ ‘तपन’ले बोलेको छ ।

वर्षौंदेखि ‘सिनो खाने’ दलितहरूको मर्म बोल्ने रउनीहरुको व्यबहारिक रुपान्तरण खातिर आफ्नो जिन्दगीको उर्जाशील कालखण्ड दलित बस्तीमै बिताएका शरद पछिल्ला समयमा भएका मुक्ति आन्दोलनका नतिजामा उति खुशी छैनन् । उथलपुथलकारी सम्भावनाहरु बोकेर आएका ती आन्दोलन स्खलित भएको ठहर गर्छन् उनी । यही हप्ता काठमाडौंको रविभवनस्थित रातोघरको सभाहलमा उनै आख्यानकार शरद मुक्तिका लागि गरिएको आन्दोलनमा आएको विचलन र स्खलन प्रति चिन्तित देखिन्थे ।

उनका उपन्यासका पात्र लिखेजस्तै हजारौं लिखेहरूले सामाजिक न्यायका लागि बलिदान दिएर इतिहासमा राता लिखत राखे । जीवित लिखेहरू ‘कमरेड’को ट्याग भिरेर केही वर्ष हल्लिए,रुमल्लिए । अनि, अन्तत: खाडी हान्निनु बाहेक अरु बाटो भेटेनन उनीहरुले । भेदभाव र छुवाछुत जहाँको त्यहीँ रह्यो । हो, यही कुरामा चिन्तित शरद पौडेल सामाजिक न्यायका लागि अझै सृजनात्मक आन्दोलनको खाँचो रहेको बताउँछन् ।

करिब २५ जना सर्जक र समकालीन अभियन्ताहरुको बीचमा उनी उपन्यासका कुरा भन्दा लिखेहरूका जीवन भोगाइको समभावमा डुबे, लिखेहरुसंग बिताएका दिनहरु सम्झिए-  ‘लिखे उपन्यासको महत्त्वपूर्ण अंश पर्वत र बाग्लुङका दलित बस्तीहरूका कथाले भरिएका छन् । मैले त्यही भूगोल र त्यहाँको जीवनलाई पछ्याएको छु । उपन्यासमा देखाइएको राजनीतिक आन्दोलन, त्यसका उतारचढाव, त्यसमा देखिएका स्खलन र उपन्यासको अन्त्यतिर पात्रहरूमा देखिएको चिन्ताको ताप अर्थात तपनको एकजना भुक्तभोगी म आफैं थिएँ । त्यसैले त्यस विषयको अनुसन्धानका लागि कहीँ कतै जानै परेन।देशको परिवेश र आफैंभित्र चहार्दा पुग्यो ।’

 ‘लिखे’देखि नै धौलागिरिका दलित पात्रहरु उपन्यासमा आएको प्रसंगमा उनले जीवन र घटनाहरूको विकासक्रमसँगै केही नयाँ पात्र स्वाभाविक भएको बताउँदै उपन्यासमा रहेका अधिकांश पात्र वास्तविक भएको बताए । ‘लिखे’ उपन्यासमा दलित बस्तीको लिखे दमाइले बाल्यकालमा भोगेका अनेकौं कठिनाइ, साहुका घरमा काम गर्दाको दमनबाट मुक्ति खोज्दै भारत छिरेको परिवेश, उसमा पलाएको राजनीतिक चेतना, मुक्तियुद्धको पृष्ठभूमि, लिखेको नेपाल फर्काइ लगायतका घटनाक्रम आफैमा नेपालको यथार्थ इतिहास हो । आख्यानकार शरदले लिखेको त्याग र संघर्षको प्रतिफल सकारात्मक नभएको भन्दै फेरि उनीहरू जाग्न-उठ्न सके आफू खुशी हुने मनसुवा व्यक्त गरे ।

लिखेको सिक्वेलका रूपमा आएको उपन्यास ‘तपन’ र अबको बाटोबारे सर्जक भन्छन- ‘लिखे राजनीतिक चेत बोकेर नेपाल फर्कन दिल्लीमा रेल चढेपछि अघिल्लो उपन्यासको अन्त्य भएको थियो । तर ‘लिखे’का आमपाठकले ‘अब लिखेले के गर्छ त ?’ भनेर मसामु प्रश्न उभ्याइरहनुभयो । त्यसको एक हदसम्मको जवाफ त ‘तपन’ले दियो । तर वर्गीय चेतनाले जवान भएका लिखतहरुले आफू संलग्न राजनीतिक दलमा भएको आर्थिक, सांस्कृतिक र बैचारिक स्खलन देखे-भोगे पछिपछि अब उनीहरुले के गर्लान् ? फेरि प्रश्न उभिएको छ । स्वयं मलाई पनि यही प्रश्नले बेचैन पारिरहेको छ ।‘

‘तपन’ले उत्तरहरू भन्दा ज्यादा प्रश्नहरू जन्माएको कुरा लेखक स्वयं स्वीकार्छन्  । जस्तोसुकै त्याग, तपस्या, बलिदान गरेर/गराएर आएको पात्र किन नहोस्, सिर्फ पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने नजीर बसेको छ हाम्रो मुलुकमा । शरद प्रष्ट पार्छन- ‘के आदर्शको राजनीति मरेको हो ? के अब फेरि पिँधमा रहेका मान्छेहरूको मर्यादा, अस्मिता र इज्जतिलो जीवनको सम्भावनाको अन्त भएको हो ? अब यही चिहानबाट फेरि नयाँ जीवन शुरु हुने हो ? उपन्यासले उठाएको ठूलो प्रश्न यही नै हो ।’

         

आख्यानकार शरद पौडेलको पछिल्लो उपन्यास ‘तपन’ले उब्जाएका अनगिन्ती यक्षप्रश्न अझैंपनि ती हजारौं लिखेहरुका बस्तीमा ज्युँका त्युँ छन् । ती प्रश्नको उत्तर नपाएर लिखेहरू भौंतारिरहेका छन् । बर्षौसम्म लिखेहरुका बस्तीमा जीवन गुजारेका अभियन्ता तथा सर्जक पौडेलले अब यी आम प्रश्नहरूका उत्तर खोज्नतर्फ पनिलाग्नुपर्छ कि ? यो प्रश्न उनका आम पाठकले बारम्बार गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्