
क्विन्टल सुन प्रकरणमा अनुसन्धान गर्ने निकायहरूबीचको समन्वय अभावले अनुसन्धान नै प्रभावित हुने खतरा बढेको छ ।
यतिसम्म कि राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बीच उचित तालमेल नहुँदा केही व्यक्तिलाई पक्राउ गर्ने र छाड्ने काम भएको छ ।
सीआईबी र विभाग एकले अर्कालाई देखाउँदा शुक्रवार अध्यागमन विभागले पक्राउ गरेका ३ जना छुटेका छन् ।
राजस्व अनुसन्धान विभागको पत्रका आधारमा व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया र चिनियाँ नागरिकहरू ली गैलिन तथा लिओ लिउ फुयानलाई अध्यागमनले पक्राउ गरेको थियो ।
चिनियाँ नागरिकहरू स्वदेश फर्किन लाग्दा पक्राउ परेका थिए भने रोहनलाई भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरिएको थियो ।
‘हामीले अडुकियालाई राजस्व अनुसन्धान विभागले लेखेको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौं,’ अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले लोकान्तरसँग भने, ‘चिनियाँ नागरिकद्वय ली गैलिन र लिओ लिउ फुयानलाई पनि सरकारी निकायले नै लेखेको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौं ।’
तीनै जनालाई एक रात अध्यागमनको हिरासतमा राखियो । तर, विभाग र सीआईबी दुवैले लिन नमानेपछि छाड्न बाध्य भएको अध्यागमनले जनाएको छ ।
‘कुनै पनि निकायले लिन नमानेपछि हामीले त्यत्तिकै राख्ने कुरा त भएन नि,’ अध्यागमन विभागका महानिर्देशक अधिकारीले लोकान्तरसँग भने ।
उनका अनुसार रोहन अडुकियालाई पक्राउ गर्न पत्र लेखेको निकाय राजस्व अनुसन्धान विभाग र हाल अनुसन्धान गरिरहेको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दुवैलाई सोधेर आवश्यक परेको खण्डमा हाजिर हुने गरी तारेखमा छाडिएको हो । चिनियाँ नागरिकलाई भने अध्यागमन विभागले आफ्नो देश जान सक्ने गरी छाडेको विभागका महानिर्देशक अधिकारीले भने ।
‘राजस्व अनुसन्धान र सीआईबी दुवैलाई सोधेर छाडेका हौं,’ महानिर्देशक अधिकारीले लोकान्तरसँग भने ।
प्रहरी प्रवक्ता कुवेर कडायतले रोहन अडुकियाका विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन् । चिनियाँ नागरिकहरूलाई भने सोधपुछका लागि बोलाइएको उनको भनाइ छ ।
‘हामीलाई अडुकियाको विषयमा जानकारी छैन,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले लोकान्तरसँग भने, ‘चिनियाँ नागरिकलाई सोधपुछका लागि बोलाएका हौं । प्रहरीले सोधपुछका लागि बोलाउन सक्छ ।’
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यस विषयमा आफूलाई जानकारी नभएको बताएका थिए ।
‘यसबारेमा हामीलाई जानकारी छैन,’ शुक्रवार लोकान्तरले अडुकियाको विषयमा जानकारी लिन खोज्दा उनले भनेका थिए ।
यसरी समाएर यत्तिकै छाड्दा कि अभियुक्त फुत्किन सक्ने कि त असंलग्न व्यक्तिले विनासित्ति दुःख पाउने अवस्था आउने एक पूर्व प्रहरी प्रमुखले बताए ।
‘पहिला समाउनुस् भन्ने अनि पछि जिम्मा नलिने कुरा गैरजिम्मेवारी हो । यस्तो अवस्थामा कि अभियुक्त छुट्न सक्छ, कि त असंलग्न व्यक्तिले विनासित्ति दुःख पाउने अवस्था आउँछ,’ ती पूर्व प्रहरी प्रमुखले लोकान्तरसँग भने ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल हुँदै संसदमा पनि अनुसन्धानको जिम्मा सीआईबीलाई दिनुपर्ने माग उठेपछि असार २१ गते राजस्व अनुसन्धान विभागले अभियुक्त र प्राप्त प्रमाणहरू जिम्मा लगाएको थियो ।
त्यसपछि विभागले आफ्नो जिम्मेवारी पूर्णरूपमा सकिएको जसरी व्यवहार गरेको सीआईबीका एक अधिकारीले बताए ।
सीआईबीले पछिल्लो समय विभागले जिम्मा लगाएका फाइलहरू अध्ययन गरिरहेको छ । सीआईबीलाई सुन तस्करीको जरासम्म पुगेर सत्य-तथ्य बाहिर ल्याउने चुनौती छ ।
अहिलेसम्म राजस्व अनुसन्धान विभागले १८ जनालाई पक्राउ गरेको छ ।
दोलखाको मेलुङ गाउँपालिका– ३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका– ४ का हर्कराज राई, भारतीय नागरिक थुप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियन नागरिक दावा छिरिङ प्रहरी हिरासतमा छन् ।