
खोटाङ प्रतिभा २०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् ।
खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत –यूके) ले संयुक्त रूपमा सोमवार काठमाडौंमा आयोजना गरेको फाइनल अडिसनमा ९–९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा २०८०’ छनोट भएका हुन् ।
प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद २ लाख २ हजार, १ लाख १ हजार र ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिए ।
‘खोटाङ प्रतिभा २०८० छनोट प्रतियोगिताका विजयी ६ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ,’ उनले भने, ‘प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहन स्वरूप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ ।’