
वैदेशिक रोजगार विभागले स्वीकृति नलिई सामाजिक सञ्जालमा विज्ञापन गर्ने २ मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।
सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी संकलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई बुधवार २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबूक, टिकटक) मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन गरी अनुसन्धान भइरहेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
विभागले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध समेत गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन गरी नागरिक ठगिने क्रम बढेको विभागको भनाइ छ । विभागले कानून विपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत ध्यानाकर्षण गराएको छ ।