
समयमा भिसा नपाएका कारण गायिका सिन्धु मल्लले आफ्नो अस्ट्रेलियाको पूर्व निर्धारित कार्यक्रमहरू रद्द गर्नुपरेको छ ।
तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी सिन्धुलाई दूतावासले भिसा नदिएको उनी स्वयंमले जानकारी दिएकी हुन् ।
आफ्नो तीन दशकको गायन यात्रामा पहिलोपटक अस्ट्रेलियाले समयमा भिसा नदिएको उनले बताएकी छन् । र, यसलाई आफ्नो कलाकारिताको अपमान ठानेको सिन्धुले फेसबुकमा उल्लेख गरेकी छन् ।
अस्ट्रेलियाले समयमा भिसा नदिनुको कारण नेपालमा मन्दी छ र नेपाली कलाकारहरू विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको उनको निष्कर्ष छ ।
‘कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नु होला । यसको असर अन्य सच्चा कलाकारहरूलाई पर्दाेरहेछ । विदेश मै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रकृया पूरा गरेर पूरा गरेर बस्न सक्नु हुन्छ’ सिन्धुले फेसबुकमा लेखेकी छन् ।
उनले आफूलाई अस्ट्रेलियामा गैरकानुनी रुपमा बस्ने रहर र वाध्यता नभएको बताएकी छन् । उनले लेखेकी छन् ‘मलाई मेरो देश नेपाल नै प्यारो छ । यदि भविष्यमा विदेशमा बस्नेगरी जानुपरेको खण्डमा कानुनी प्रकृया पूरा गरेर जानेछु । नेपाल सरकारको पनि म यसै स्टाटस मार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’
सिन्धु मल्ल नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । उनका थुप्रै तीज गीतहरू निकै चर्चामा छन्, जसमध्ये ‘चिटिक्कै भा छु रे’ सर्वाधिक चर्चित मानिन्छ ।