
सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कछन् ।
खटाएको स्थानीय तहमा कर्मचारी जान नमान्नु सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबैभन्दा ठुलो चुनौती बन्दै गएको छ । यस वर्ष साउनदेखि अहिलेसम्म मन्त्रालयले करिब २५० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा खटाएको छ ।
करिब एक सय जना कर्मचारी अझै पनि विभिन्न बहानामा खटाएको स्थानीय तहमा नगएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले कतिपय कर्मचारीको स्वास्थ्य समस्या, परीक्षा र पारिवारिक समस्याले गर्दा खटाएको ठाउँमा नगएको हुन सक्ने बताए ।
मन्त्रालयले गत असारमा कर्मचारी सरुवा व्यवस्थापन गर्न कार्यदल निर्माण गरी सो कार्यदलले दिएको सिफारिसका आधारमा कर्मचारी सरुवा गर्दै आएको छ । नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले सरुवा प्रणाली स्पष्ट र पारदर्शी नहुँदा कर्मचारी खटाएको ठाउँमा जान नमान्ने बताए । गोरखापत्रमा खबर छ ।