०१ असार २०८३, सोमबार
नक्कली डाक्टरमाथिको अनुसन्धान

नक्कली प्रमाणपत्र प्रकरणः कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘होल्ड’ !

भदौ १९, २०८०
काठमाडौं
नक्कली प्रमाणपत्र प्रकरणः कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘होल्ड’ !
फाइल फोटो

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मासम्बन्धी अनुसन्धान तत्कालका लागि ‘होल्ड’ भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार लिखत कीर्तेमा मुद्दा बुझाउने हद म्याद २ वर्ष हुने भएकाले तत्काल शर्माका सम्बन्धमा थप अनुसन्धान नहुने भएको हो ।

‘लिखत कीर्तेमा अनुसन्धानका लागि २ वर्षे हदम्याद छ । त्यो अवधिभित्र जहिले बुझाए पनि हुन्छ, अहिल्यै अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी छैन,’ सीआईबी उच्च स्रोतले लोकान्तरसँग भन्यो  ।

प्रमुख सत्ता साझेदार दलको सांसद भएकाले अनुसन्धान रोक्न दबाब आएको हो ? भन्ने प्रश्नमा सीआईबीले केही खुलाउन चाहेन ।

साउन २५ गते सीआईबीले ‘अपरेसन फोक्सट्रोट चार्ली’अन्तर्गत गोल्फुटारस्थित निवासबाट शर्मालाई पक्राउ गरेको थियो । 

त्यसको भोलिपल्ट जिल्ला अदालत काठमडौंले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

सीआईबीले २०७८ साउन २० गते नेता शर्माको प्रमाणपत्रको बारेमा सत्यतथ्य बुझ्न भन्दै परीक्षा बोर्डमा पत्र पठाएको थियो ।

त्यसको जवाफ बोर्डले २०७९ असार १९ गते पठाएको थियो । त्यससम्बन्धी समाचार प्रमाणसहित लोकान्तरले प्रकाशन गरिसकेको छ ।

सम्बन्धित समाचार:
सुनिल शर्माको आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली [प्रमाणसहित]

बोर्डले पठाएको जवाफमा सन् १९९६ सालमा आईएस्सी तहको रोल कोड ६५०४ तथा रोल नम्बर १०११७ मा कैफियत देखिएको उल्लेख थियो ।

त्यस्तै बिहार परीक्षा बोर्डले पनि उनको प्रमाणपत्रमा कैफियत रहेको जवाफ पठाएको छ ।

बिहार परीक्षा बोर्डले सन् २०२२ जुन २३ तराखिका दिन जवाफ पठाएको प्रमाण लोकान्तरलाई प्राप्त भएको छ । त्यसमा कैफियत देखिएकामध्ये ५औं नम्बरमा रहेका सुनिलको ‘डिफर फ्रम बीएसईबी पटना रेकर्ड’ भनिएको छ ।

सीआईबीको पछिल्लो अपरेसनका क्रममा सांसद शर्मासहित ९ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये एकजना सक्कली डाक्टर परेपछि छुटेका छन् ।

सुनिल शर्मा अदालतको आदेशमा छुटे भने श्रद्धा शिल्पकारलाई पनि १ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको सीआईबीले जनाएको छ ।

यसैगरी नरसिंह यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश अएको छ भने बाँकीको मुद्दा सीआईबीले बुझाएको छैन ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । 

सीआईबीले शुरूमा ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसक्रममा कुल ५९ जनालाई पक्राउ गरिएको थियो ।

पढ्नुहोस्, यो पनि :

'नक्कली डाक्टर'का थरीथरी कीर्ते– कसैले नम्बर बढाए, कसैले अर्कै विषयसँग साटफेर गरे
 

salt training

कमेन्ट गर्नुहोस्