
गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुयाएर अलपत्र पारी ठगी गर्ने नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो ।
ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार हालसम्म पक्राउ परेका छ जनाले पाँच वटा उजुरो ब्युरोमा दिएको आधारमा गौतमलाई नेपाल प्रवेश गर्नेबित्तिकै पक्राउ गरिएको हो । उनले गौतमलाई पक्राउ गरेको जानकारी ब्युरोले प्रहरी प्रधान कार्यालय हुँदै नेपालस्थित अमेरिकी दूताबासलाई दिइएको पनि बताए । गौतमले २०० जनालाई गैरकानुनी रुपमा अमेरिका पुर्याएको स्वीकार गरेको खबर गोरखापत्रले छापेको छ ।