२४ असार २०८३, बुधबार

जापानी मेयरको सुत्केरी बिदा किन अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्यो ?

असार १८, २०८३
काठमाडौं
जापानी मेयरको सुत्केरी बिदा किन अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्यो ?

जापानकी सबैभन्दा कान्छी निर्वाचित महिला मेयरले आफ्नो पहिलो सन्तानलाई जन्म दिन बिदा बस्ने घोषणा गरेर पुनः एक पटक इतिहास रचेकी छन्। यसले जापानको परम्परागत पितृसत्तात्मक श्रम र राजनीतिक प्रणालीभित्रको ठुलो रिक्ततालाई उजागर गर्दै राष्ट्रिय बहसको रूप लिएको हो । 

क्योटो प्रान्तको लगभग ७० हजार जनसङ्ख्या भएको यावाता सहरकी ३५ वर्षीया मेयर शोको कावाताले आफ्नो बच्चाको जन्मको समयमा सुत्केरी बिदा बस्ने घोषणा गरेकी हुन्। सन् २०२३ मा निर्वाचित भएकी कावाताले आगामी सेप्टेम्बरको मध्यतिर बच्चालाई जन्म दिँदै छिन् । 

उनी सुत्केरी हुनुभन्दा ८ हप्ता अघि र जन्मिएपछि ८ हप्ता गरी कुल १६ हप्ताको बिदामा बस्नेछिन् । जापानको इतिहासमा बहालवाला मेयरले यसरी सुत्केरी बिदा लिन लागेको यो नै पहिलो पटक हो ।

सीएनएनका अनुसार जापानमा सरकारी कर्मचारीहरूका लागि सुत्केरी बिदाको व्यवस्था भए तापनि जनताबाट निर्वाचित राजनीतिक प्रतिनिधि वा अधिकारीहरूका लागि यस्तो बिदाको कुनै कानुनी ढाँचा वा ग्यारेन्टी छैन ।

घट्दो जन्मदर र राजनीतिक नेतृत्वमा रहेको गहिरो लैङ्गिक असमानतासँग जुधिरहेको जापानका लागि आफ्नो यो कदम एक प्रणाली परिवर्तनको उत्प्रेरक बन्ने मेयर कावाताको विश्वास छ। 'मेरो कदममार्फत म केवल कर्मचारीहरूलाई मात्र होइन, बरु व्यवसायी, प्रबन्धक र विभिन्न क्षेत्रमा आबद्ध सबै मानिसहरूलाई काम र पारिवारिक जीवन (सन्तान उत्पादन र पालनपोषण) बीच उचित सन्तुलन कायम गर्न प्रोत्साहित गर्न चाहन्छु,' उनले सीएनएनसँग भनेकी छन् ।

बिदाको अवधिमा सहरको कार्यभार सम्हाल्न उनले एक उपमेयर नियुक्त गर्ने योजना बनाएकी छन् । यद्यपि, घरमै नवजात शिशुको हेरचाह गरिरहँदा पनि उनले नियमित रूपमा आफ्ना इमेलहरू भने जाँच गरिरहने बताएकी छन्।

null

कावाताले बिदाको घोषणा गरेपछि जापानी सामाजिक सञ्जालमा केही आलोचनात्मक टिप्पणीहरू पनि देखिएका छन्। आलोचकहरूले सार्वजनिक पदमा बसेको व्यक्ति कार्यक्षेत्रमा अनुपस्थित हुनु करदाताहरूको पैसाको दुरुपयोग भएको तर्क गरेका छन् । तर कावाताका अनुसार उनले व्यक्तिगत रूपमा भेटेका मानिसहरू भने निकै सहयोगी र बुझ्ने खालका छन् । 'कार्यालयका कर्मचारीदेखि सर्वसाधारण नागरिकहरूले मलाई कुनै हिचकिचाहटबिना आराम गर्न र बिदा लिन भनिरहेका छन्,' उनले भनिन्।

टोकियो विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक सावाको शिराहासेका अनुसार जापानको सरकारी दृष्टिकोण अझै पनि पुराना मान्यताहरूमा आधारित छ, जसले आधुनिक श्रम बजारमा महिलाका आवश्यकताहरूलाई समेट्न सकेको छैन । 

यद्यपि, बिस्तारै जापानी राजनीतिमा महिलाहरूको उपस्थिति बढ्दै गएको छ। जापानले गत वर्ष मात्रै आफ्नो इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित गरेको थियो । यद्यपि, संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा अझै पनि महिलाको उपस्थिति १५ प्रतिशतभन्दा कम छ ।

स्थानीय शासनमा महिलाको सहभागिता सम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै लुडविग-म्याक्सिमिलियन्स-युनिभर्सिटीकी अनुसन्धानकर्ता स्टेफनी श्वार्टका अनुसार विगत पाँच वर्षमा जापानका कुल १,७०० भन्दा बढी स्थानीय तहमध्ये महिला मेयरहरूको सङ्ख्या ५० बाट बढेर सन् २०२६ को सुरुवातसम्म झन्डै ८० पुगेको छ। 

यो बहस जापान सरकारले दशकौँदेखि सामना गरिरहेको घट्दो जन्मदरको गम्भीर सङ्कटको बीचमा आएको हो।

चलनचल्तीको राष्ट्रिय मापदण्ड अनुसार उनी आगामी डिसेम्बर २०२६ सम्ममा काममा फर्किने योजनामा छिन्। उनले यो कदमले आगामी दिनमा धेरैभन्दा धेरै महिलाहरूलाई राजनीति र नेतृत्व तहमा आउन प्रेरणा मिल्ने आशा व्यक्त गरेकी छन्। 

जापानको चर्चित अखबार मैनिचीले सम्पादकीयमार्फत उनको समर्थन गर्दै लेखेको छ, 'जापानले यस्तो वातावरण बनाउनुपर्छ जहाँ मानिसहरूले सुत्केरी बिदालाई एक सामान्य अधिकारका रूपमा लिन सकून्।'

उनको बिदाबारे थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचारमा प्कराशित गरकेा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्