०८ साउन २०८३, शुक्रबार

रुसको भीषण हवाई आक्रमणपछि कीभमा १३ जनाको मृत्यु, ९० भन्दा बढी घाइते

असार १८, २०८३
काठमाडौं
रुसको भीषण हवाई आक्रमणपछि कीभमा १३ जनाको मृत्यु, ९० भन्दा बढी घाइते

रुसले बिहीबार युक्रेनको राजधानी कीभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोनमार्फत भीषण हवाई आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये दुई जना बालबालिका रहेका छन् ।

आक्रमणका क्रममा मिसाइल र ड्रोनले आवासीय भवनमा प्रहार गरिएको छ । कीभमा एक नौतले आवासीय भवनको केही भाग भत्किएको छ । 

आक्रमणपछि सहरका २० भन्दा बढी स्थानमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । एम्बुलेन्स स्टेसन, एक वैज्ञानिक अनुसन्धान संस्था, होटल तथा विभिन्न व्यावसायिक भवनहरू पनि क्षतिग्रस्त भएका समाचार संस्था रोयटर्सले जनाएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कुल ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको बताएका छन् । उनका अनुसार प्रहार गरिएका मिसाइलमध्ये झण्डै आधा ब्यालिस्टिक मिसाइल थिए भने आक्रमणमा जेट–सञ्चालित शाहेद ड्रोनसमेत प्रयोग गरिएको थियो ।

युक्रेनको वायुसेनाले ४८ वटा मिसाइल र ४७६ वटा ड्रोन निष्क्रिय पारे पनि २५ वटा ब्यालिस्टिक मिसाइल र १२ वटा ड्रोनले ३३ स्थानमा क्षति पुर्‍याएको जनाएको छ । कीभ नै आक्रमणको मुख्य लक्ष्य रहेको वायुसेनाको भनाइ छ ।

जेलेन्स्कीका अनुसार खार्किभ क्षेत्रमा एक बालबालिकासहित पाँच जनाको तथा कीभ क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । आक्रमणबाट सुमी, ड्निप्रोपेत्रोभ्स्क, जापोरिझ्झिया र चेर्कासी क्षेत्रमा पनि क्षति पुगेको उनले बताएका छन् । 

उनले युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउनु अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको उल्लेख गरेका छन् ।

यता, युक्रेनी सेनाले पनि रुसको निज्नी नोभगोरोड क्षेत्रस्थित क्स्तोभो शहरमा रहेको लुकोइल–निजेगोरोडनेफ्टेओर्गसिन्टेज तेल प्रशोधन केन्द्रमा राति आक्रमण गरेको जनाएको छ । 

प्रारम्भिक जानकारीअनुसार कच्चा तेल प्रशोधन गर्ने मुख्य एकाइमा प्रहार भएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको युक्रेनी जनरल स्टाफले जनाएको छ ।

हालका साताहरूमा युक्रेनले रुसको भित्री क्षेत्रमा आक्रमण तीव्र बनाउँदै आएको छ । यसले विश्वकै तेस्रो ठूलो तेल उत्पादक रुसमा इन्धन आपूर्ति संकट निम्त्याएको र भारतजस्ता टाढाका देशबाट समेत पेट्रोल आयात गर्नुपर्ने अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्