२९ असार २०८३, सोमबार

फिल्म ‘मायावी’मा पल र सुशील अनुबन्धित

भदौ २४, २०८०
काठमाडौं
फिल्म ‘मायावी’मा पल र सुशील अनुबन्धित

दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्म ‘मायावी’मा अभिनेता पल शाह र सुशील सिटौला अनुबन्धित भएका छन् । 

फिल्ममा दुवै अभिनेताको शीर्ष भूमिकामा अभिनय रहनेछ । निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गत बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए । उनकै कथा रहने फिल्ममा यसअघि अभिनेत्री दीपिका प्रसाई फाइनल भइसकेकी छन् । 

अभिनेता शाहले ‘मायावी’मार्फत करिब २ बर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । यस्तै, आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका अभिनेता सिटौलाको फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ बाट प्रदर्शनमा आएको थियो । अभिनेत्री प्रसाईले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छन् । 

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ ।  फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । असोज २ गतेबाट फिल्म फ्लोरमा जानेछ । पोखराको रमणीय स्थलमा फिल्मको छायांकन गरिनेछ । 

पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ । निर्देशक भट्टराईले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्