२६ असार २०८३, शुक्रबार

दयाहाङ र मिरुना स्टारर ‘रङ्गेली’को छायांकन इटहरीबाट सुरु

भदौ २६, २०८०
काठमाडौं
दयाहाङ र मिरुना स्टारर ‘रङ्गेली’को छायांकन इटहरीबाट सुरु

यस वर्षको महाशिवरात्रिमा प्रदर्शन हुने लक्ष्यसहित फिल्म ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ गरिएको छ । 

सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईंले दिएका छन् । रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा फिल्मको छायाङ्कन हुने निर्देशक अर्जुन सुवेदीले बताए । ​

सोमवार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै शुभ मुहूर्त गरिएको थियो । मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन । छायाङ्कनको समयमा उपस्थित नभएता पनि फिल्म छायाङ्कनको सेड्यूल अनुसार क्रमशः कलाकारहरू उपस्थित हुने निर्माता जितेन्द्र खतिवडाले बताए । 

सबै प्रमुख कलाकारहरू अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, ‘दयाहाङ राई टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भइरहनुभएको छ । मिरुनाजी पनि अर्को फिल्मको प्रचारमा समय दिइरहनु भएको छ । हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ । त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ ।’ 

अभिनेता प्रवीण खतिवडाको छायाङ्कन सुरु भएको छ । प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधवार छायाङ्कनस्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन् । 

यस वर्षको फागुन २५ गतेका लागि प्रदर्शन मिति तय गरिएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ । 

फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । 

सुशन प्रजापतिले फिल्मलाई छायाङ्कन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्