
स्थानीय तहले सार्वजनिक विद्यालयबाट अर्को विद्यालयमा शिक्षकको सरुवा गर्न सक्ने प्रावधानसहित विधेयक संसदमा दर्ता भएको छ।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ। साथै एक स्थानीय तहले अर्को स्थानीय तहमा पनि शिक्षकको सरुवा गर्न सक्ने छन् ।
‘त्यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ,’ प्रस्तावमा उल्लेख छ ।
एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सहमतिको आधारमा सरुवा गर्नुपर्ने, पदपूर्तिको लागि विज्ञापन भएको वा पदपूर्तिका लागि माग गरी पठाएको भएमा पदमा सरुवा गर्न नसकिने उल्लेख छ ।
त्यसै गरी नियुक्ति भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएसम्म सरुवा गर्न नपाइने र रमाना दिँदा किताबखानामा रेकर्ड अद्यावधिक गरी सकेपछि मात्र रमाना दिनुपर्ने व्यवस्था गरिएको छ ।