३० जेठ २०८३, शनिबार
६० किलो सुन तस्करी प्रकरण

तोलाको ५ हजार सस्तोमा दिन्थे सरार्फले सुन, देशभरका व्यवसायीबाट उठाएका थिए १ अर्ब

असोज ४, २०८०
काठमाडौं
तोलाको ५ हजार सस्तोमा दिन्थे सरार्फले सुन, देशभरका व्यवसायीबाट उठाएका थिए १ अर्ब

तस्करीमा साँठगाँठ देखिएपछि पक्राउ परेका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफले नेपालका सुनचाँदी व्यवसायीलाई प्रतितोला ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै १ अर्ब रुपैयाँ उठाएका खुलेको छ । 

सीआईबीका अनुसन्धान अधिकारीहरूका अनुसार उनले पछिल्लो समय राष्ट्र बैंकले उपलब्ध गराउने मूल्यभन्दा ५ हजार सस्तोमा सुन उपलब्ध गराउने भन्दै पैसा उठाएका थिए । 

‘बजार मूल्यभन्दा ५ हजार सस्तोमा सुन दिने भनेर पैसा लिएको देखिएको छ । अहिले थप अनुसन्धानका लागि भनेर त्यो कुरा अनुसन्धानमा देखाइएको छैन,’ सीआईबीका एक अधिकारी भने ।

उनका अनुसार आफूहरू फसिने डरले नेपाल सुनचाँदी व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरू उजुरी दिन आएका थिएनन् । तर, प्रहरीलाई यो विषय धेरै पहिलादेखि नै जानकारीमा रहेको खुलेको छ ।

सुन प्रकरणमा पक्राउ परेका गुल्मीको चन्द्रकोट गाउँपालिका– ६ का सुमन खरेलले चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ्गबाट लिएर सर्राफलाई ७ केजी सुन दिएको बताएका छन् ।

‘शिवकुमार सर्राफले एकैपटक १ केजी सुन लिई सो बापत अमेरिकी डलर भुक्तानी गर्न नसक्ने भनेका कारण मैले सो कुरा एलेक्स भन्ने याओ पुचेङ्गलाई भनी ४०० ग्रामदेख ७०० ग्राम तौलसम्मका सुनका बिस्कुटहरू लिई १० पटकमा करीब ७ किलो सुन शिवकुमार सर्राफलाई काठमाडौंका विभिन्न स्थानमा भेटी दिएको हुँ । निज शिवकुमार शर्राफले मागेअनुसार ४०० ग्रामदेखि ७०० ग्रामसम्मका टुक्राहरू १ पटकमा १ वटादेखि फरक–फरक परिमाणको २ वटा सुनको टुक्रा समेत दिने गरेको दिएँ । मलाई याद भएसम्म का.जि. कालोपुल र रातोपुलस्थित चिया पसलमा भेटी दिएको हुँ । सो सुनबापतको भुक्तानी निज शिवकुमार सर्राफले एलेक्स भन्ने याओ पुचेङ्गले उपलब्ध गराएको डिजिटल वालेटको क्यूआर कोडसहितको बार स्क्यानरमार्फत दिएका हुन् । सोबापत मैले अमेरिकी डलर १४०० कमिसन पाएको हुँ । निज शिवकुमार सर्राफलाई २०८० सालको असारको पहिलो हप्तासम्ममा सुन दिएको थिएँ । शिवकुमार सर्राफलाई कहिले एक हप्ता, कहिले १० दिनको ग्यापमा सुन दिने गरेको थिएँ । शिवकुमार सर्राफले सो दिनको प्रति के.जी. सुनको बजार मूल्य निकाली कहिले प्रति के.जी. अमेरिकी डलर ६४०००, कहिले अमेरिकी ६४,५०० भुक्तानी दिने गरेका थिए,’ भन्ने बयान सुमनले प्रहरीलाई दिएका छन् ।

प्रहरीको अनुसन्धानमा पनि त्यो कुरा पुष्टि भएको छ । तर, सर्राफले सुमनलाई आधा केजी सुनको ४४ लाख रुपैयाँ मात्रै दिएको बयान दिएका छन् ।

‘सुमन खरेल र मबीच सुन खरिद बिक्री गर्ने सन्दर्भमा कुराकानी गर्दा फोन सम्पर्क भएको ठीक साँचो हो । मैले प्रतिवादी सुमन खरेललाई काठमाडौंको रातोपुल तथा कालोपुल भन्ने स्थानमा भेटी निजबाट ५०० ग्राम सुन खरिद गरी लिएको हुँ । मैले मेरो कम्पनीको नाममा सञ्चालनमा रहेको माछापुच्छ्रे बैंक लि. को खाताबाट २०८० सालको वैशाख र जेष्ठ महिनामा दुईपटक रकम निकाली प्रतिवादी सुमन खरेललाई ५०० ग्राम सुनको नेपाली रु. ४४,००,००० रकम नगद रकम दिएको हुँ । प्रतिवादी सुमन खरेलबाट मैले ५०० ग्राम सुनमात्र खरिद गरेको हो । मलाई ७ के.जी. सुन बिक्री गरी सोको रकम क्यूआर कोडमार्फत् भुक्तानी गरेको भनी किन खुलाएका हुन् यस विषयमा मलाई थाहा भएन,’ भन्ने बयान दिएका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६०.७१६ केजी सुन प्रकरणमा उनलाई नेपालबाट भारतमा सुन तस्कर गर्ने नाइके सुमन खरेलसँग सम्बन्ध देखिएपछि पक्राउ गरेको थियो । सीआईबीले सुमनको मोबाइल प्रयोगशालामा परीक्षण गर्दा उनले प्रयोग गर्ने ९८४७२६....१५ नम्बरको मोबाइलबाट सर्राफको ९८२८१३...३१ नम्बरको मोबाइल नम्बरमा ६० पटक र ९८४५०३....५१ नम्बरको मोबाइल नम्बरमा १५४ पटक गरी २१४ पटक सम्पर्क भएको देखिएको छ । यो सुन तस्करीमा मुख्य भूमिकामा रहेका एलेक्स भन्ने याओ पेचुङ्गसँग सन् २०२३ अप्रिल १ देखि जुलाई २० गतेसम्म उनीहरूको सम्पर्क भएको देखिएको  छ ।

प्रहरीले सर्राफको मोबाइल परीक्षण गर्दा विभिन्न समयमा आधा/आधा केजी सुन पटक/पटक बिक्री गरेका फोटाहरू, क्रिप्टो करेन्सी यूएसडीटीमार्फत २० हजार, १५ हजार गरी विभिन्न समयमा यूएसडीटीबाट भुक्तानी गरेको देखिएको फरेन्सिक ल्याबको परीक्षणमा देखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

सुमन खरेलको मोबाइल परीक्षणमा पनि विभिन्न समयमा ११ लाख ५५ हजार चिनियाँ पैसा अर्थात् नेपाली रुपैयाँ २ करोड ८ लाख ४९ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ । त्यसबाहेक विभिन्न समयमा फार्गो बैंकको वालेटमार्फत ३ लाख १९ हजार ४९० अमेरिकी डलर भुक्तानी गरेको देखिएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थल भन्सारबाट बाहिरिएको १६० केजी ब्रेक सुमा रहेको ६०.७१६ केजी सुन बरामद गरेको थियो । विभागले १६ जनालाई पक्राउ गरेर साउन २२ गते सीआईबीलाई बाँकी अनुसन्धानको जिम्मा लगाएको थियो । ​अन्यलाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

यस प्रकरणमा ३२ जना पक्राउ परेकोमा प्रहरीले फरारसहित २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

भदौ ३१ गते जिल्ला अदालतमा अभियोजन गरिएको मुद्दामा प्रतिवादीहरूको कागजी बयान चलिरहेको छ । सरकारी वकिलले पेश गरेको अभियोग पत्रअनुसार दावा छिरिङकी श्रीमती अमला रोका, जीवन चलाउने र साह सोनार फरार छन् ।

प्रहरीले पूरक अनुसन्धान गरेर पुनः  अभियोजनका लागि आधार बाँकी राखिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्