२९ जेठ २०८३, शुक्रबार
सुधार गृहहरूमा तनाव

बालसुधार गृहमा समस्या: छानबिन समितिको सुझाव– ‘उमेर पुगेकालाई कारागारमा सार्नुपर्छ’

असोज ७, २०८०
काठमाडौं
बालसुधार गृहमा समस्या: छानबिन समितिको सुझाव– ‘उमेर पुगेकालाई कारागारमा सार्नुपर्छ’

१८ वर्षभन्दा कम उमेरमा अपराध गरेको आधारमा अहिले ३०/३५ वर्ष भइसकेका कैदीबन्दीलाई पनि सँगै राखिएकाले बालसुधार गृहहरूमा समस्या देखिएको निष्कर्ष सरकारी छानबिन समितिले निकालेको छ ।

भक्तपुरस्थित बालसुधार गृहमा एक बालकको मृत्यु तथा सुधार गृह नै ‘ब्रेक’ गरेर कैदीबन्दी भागेपछि छानबिनका लागि प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको नेतृत्वमा गठित समितिले उक्त निष्कर्ष निकालेको हो ।

१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोर किशोरी र ३०/३५ वर्ष भइसकेका वयस्क कैदीबन्दीलाई एकसाथ राखिएकाले समस्या देखिएको निष्कर्ष रहेको समितिका सदस्य समेत रहेका भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले लोकान्तरले बताए ।

‘मुख्य समस्या त १८ वर्षभन्दा माथिका कैदीहरूलाई राख्दा देखिएको छ,’ निरौलाले भने, ‘कम र बढी उमेरका कैदीबन्दीलाई एकसाथ राख्दा उमेरका कारण समस्या भएको पाइयो ।’

समितिले १८ वर्ष नाघेकाहरूलाई कारागारमा सार्न सिफारिश गरेको उनले बताए ।

सुधार गृहमा स्वास्थ्य, खानेपानी, बसाइलगायतका विषयमा समेत कमजोरी भएको समितिले औंल्याएको छ ।

सरकारले निजी संस्थालाई बालसुधार गृह सञ्चालन गर्न दिँदा उनीहरूले आफ्नो स्वार्थमा चलाउन खोज्ने गरेकाले पनि समस्या भएको पाइएको उनले बताए ।

सुधार गृहहरूमा खानेपानी, खाना, बस्न, स्वास्थ्यलगायतका कारणले भक्तपुरमा कैदी कमल बस्नेतको मृत्यु भएको निष्कर्ष निकालिएको निरौलाको भनाइ छ ।

समितिले समस्या समाधानका लागि दीर्घकालीन र अल्पकालीन विषयहरू सुधारका लागि सुझाव दिएको उनको भनाइ छ ।

तर, कारागार व्यवस्थापन विभाग भने यो विषय आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भन्दै पन्छिएको छ । विभागका महानिर्देशक काशीराज दाहालले सुधार गृह आफ्नो कार्यक्षेत्र भित्र नपर्ने बताए ।

‘सिदा’ उपलब्ध गराउने तथा सुधार गृह र सीडीओ कार्यालयले सिफारिश गरेका कैदीबन्दीलाई सरुवाको अनुमति दिने अधिकार मात्र आफूहरूलाई रहेको उनको भनाइ छ ।

‘विभागको काम सिदा दिने र सिफारिश भएर आएका कैदीहरूलाई सरुवाको अनुमति दिने मात्रै हो, अरू सुधारलगायतका काम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको हो,’ महानिर्देशक दाहालले लोकान्तरसँग भने ।

पछिल्लो समयमा बालसुधार गृहमा झडप र मृत्युका घटना बढेका छन् । 

शुक्रवार राति बाँकेको डुडुवा गाउँपालिका– ६ को जयन्दु बालसुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु भएको छ ।

रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले जानकारी दिए । 

२ पक्षबीच झडप हुँदा १० जना घाइते भएका थिए । तीमध्ये अहिले ४ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सुरक्षा तैनाथी बढाइएको छ । बालसुधार गृहमा तोडफोड र आगजनी समेत भएको थियो । 

भदौ ४ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका– २ सानोठिमीस्थित बालसुधार गृहको पछाडिको गेट भत्काएर २ सय २१ जना कैदीबन्दी फरार भएका थिए । 

१८ वर्षको उमेरमा (२०७७ जेठ २९ गते) पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बालसुधार गृह सानोठिमी ल्याइएका रामेछापको मन्थली नगरपालिका– ३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण भदौ ३ गते बिहान मृत्यु भएपछि सुधार गृहमा झडप भएको थियो ।    

त्यसको भोलिपल्ट कैदीबन्दीहरू सुधारगृह भत्काएर भागेका थिए । प्रहरीलाई समेत लखेटेर कुटपिट गर्न थालेपछि अश्रु ग्यास नै प्रहार गर्नुपरेको थियो । त्यहाँबाट भागेका कैदीबन्दी बाहिर सडकमा आतंक मच्चाएका थिए ।

त्यति मात्र नभएर त्यहाँबाट पर्सा सारिएका कैदीबन्दीले त्यहाँ पनि झडप अवस्था सिर्जना गरेका थिए ।

भदौ २७ मा पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको थियो ।  भक्तपुरबाट १८ जना बालकैदीहरूलाई त्यहाँ सारिएको थियो । 

उनीहरूले खान नपाएको, यातना दिएको र विभेद गरिएको भन्दै झडप गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकका अनुसारका अनुसार भक्तपुरबाट पर्सामा १८ जना, मकवानपुरमा १५ जना, रुपन्देहीमा १८ जना र डोटीमा ८ जनालाई सरुवा गरिएको थियो । 

‘त्यो समयमा अलि अराजकता फैलाउन सक्ने कैदीहरूलाई मध्यनजर गरेर कारागार व्यवस्था विभागको स्वीकृतिमा सुधार गृहले सारेको थियो,’ डीएसपी पाठकले लोकान्तरसँग भने, ‘वार्डेनलाई पनि तत्कालै निस्कासन गरिएको थियो ।

उनका अनुसार अहिले पनि भक्तपुर बालसुधार गृहमा २ सय ५४ जना कैदीबन्दी छन् ।

salt training

कमेन्ट गर्नुहोस्