
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले सोमवार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । फस्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर चलचित्र हो ।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड चलचित्रमा भने ब्रेक पाइसकेका छैनन् । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।
एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्मसँगको सहकार्यमा निर्माण गरिएको चलचित्रको निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह–निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् ।
चलचित्रमा निर्माता अमित स्वयंको पटकथा लेखन रहेको छ ।
चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा चलचित्रको छायांकन सुरु भएको थियो ।
चलचित्रको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ चलचित्र निर्माण गरिसकेको छ भने नयाँ चलचित्र ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ ।
