
दशैँको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा...’ बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो ।
केही दिन अगाडि सार्वजनिक ‘हिजो काम...’लाई स्रोता दर्शकले रुचाएपछि निर्माण टिमले यो झ्याउरे गीत सार्वजनिक गरेको हो ।
चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ ।
शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।
भिडियोमा शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको जोशिलो नृत्य पनि हेर्न सकिन्छ ।
भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।
नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यस प्रकारको मौलिक झ्याउरे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ ।
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।
चलचित्रले राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।