२४ जेठ २०८३, आइतबार
हमास आक्रमणको चपेटामा नेपाली

‘आफूभन्दा देशका लागि सोच्नुपर्छ’ भन्थे गणेश, इजरायलमा तुहियो कृषि क्रान्ति सपना

दाजु विकास भन्छन्, ‘दुई भाइ मिलेर राम्रो घर बनाउँला भनेका थियौं, म एक्लै परें’
असोज २२, २०८०
काठमाडौं
‘आफूभन्दा देशका लागि सोच्नुपर्छ’ भन्थे गणेश, इजरायलमा तुहियो कृषि क्रान्ति सपना

इजरालयमा शनिवार हमासको आक्रमणमा परेका १७ नेपालीको विवरण आइतवार साँझ सार्वजनिक भयो ।

इजरायलस्थित नेपाली दूतावासमार्फत सार्वजनिक नामावलीमा १० जनाको मृत्यु, एकको अवस्था अज्ञात, केही घाइते र केही सकुशल रहेको जनाइएको थियो । 

सोही नामावालीको पाँचौं नम्बरमा उल्लेख थियो, बझाङ घर भएका गणेशकुमार नेपाली नाम । अवस्था ‘निधन’ भनेर लेखिएको थियो ।

सो नामावाली पढेपछि उनका दाजु विकास नेपाली छाँगाबाट खसेजस्तै भए । जमिन र आकाश एकैपटक काम्न थालेको महसुस भयो । इजरायल घटनाबारे थाहा पाएपछि शनिवार साँझदेखि नै उनले भाइसँग सम्पर्कका लागि प्रयास गरिरहेका रहेछन् ।

जयपृथ्वी नगरपालिका– ११ भोपुर घर भएका विकासले २७ दिनअघि मात्रै भाइ गणेशलाई इजरायल पठाएका थिए ।

शनिबार बिहानबाटै शुरू भएको घटनाबारे साँझ ५ बजेपछि मात्र उनलाई जानकारी भयो । तत्काल फेसबूक खोले । भाइ ‘अफलाइन’ भएको ५ घण्टा बितिसकेको रहेछ ।

‘शनिबार बिहान आक्रमण भएछ, मैले साँझ ५ बजे मात्रै थाहा पाएँ । त्यतिबेला ऊ अफलाइन भएको ५ घण्टा भइसकेको थियो,’ विकासले लोकान्तरसँग भने, ‘मैले सम्पर्क हुन्छ कि भनेर धेरै कोशिश गरें । राजदूतावासमा सम्पर्क गरें । विभिन्न संस्थाहरूसँग सम्पर्क गरें । जिल्लाका नेताहरूलाई भनें । तर पनि केही लागेन ।’

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत इजरायल गएका गणेशको कुनै खबर नआएपछि दाजु विकास शनिवार राति नै धनगढी झरे ।

‘आइतबार साँझ ५ बजे मृतकको लिस्ट आयो, त्यहाँ मेरो भाइको पनि नाम थियो । त्यसपछि फेरि म गाडी रिर्जभ गरेर घर आएँ । आज बिहान मात्रै बझाङ आइपुगेको हुँ,’ भावुक हुँदै उनले भने, ‘घरमा सम्हालिन सक्ने अवस्था छैन, बुवाआमा रोइरहनुभएको छ । ६० वर्षका बुवा र ५५ वर्षकी आमाको मन कसरी बुझाउनु ?’

दाजु विकास

भाइको सपना नेपालमा नै कृषि व्यवसाय गर्ने रहेको उनले स्मरण गरे । त्यसैका लागि सिक्ने उद्देश्यले इजरायल गएको विकास बताउँछन् ।

‘हामी दुईभाइ मिलेर राम्रो घर/परिवार बनाउँला भन्ने सोचेका थियौं, तर अहिले म एक्लै परें,’ उनले भने ‘मेरो भाइ पढाइमा एकदमै अब्बल थियो । गाउँतिर पनि सबैले राम्रो मान्छन् । अतिरिक्त क्रियाकलापमा पनि निकै राम्रो थियो । उसको मृत्युको खबरले पूरै गाउँ शोकमा डुबेको छ ।’ 

आफ्नो भन्दा देशका लागि सोच्नुपर्छ र कृषि क्रान्ति गर्नुपर्छ भन्ने गणेशको सोचाइ रहेको विकासले स्मरण गरे । ‘उसको एउटै सपना नेपालमा कृषि क्रान्ति गर्ने थियो । मैले पनि खेतीपातिमै राम्रो गर्नुपर्छ भनेर गाइड गर्थें । ऊ आफू मात्रै होइन, देशका लागि सोच्नुपर्छ भन्थ्यो । त्यसैका लागि उसले ‘ओएचटी नेपाल’ भन्ने संस्था समेत खोलेको थियो । तर, त्यो संस्थाले पनि काम गर्न पाएन, भाइको सपना इजरायलमै तुहियो ।’

गणेशको अवस्था सामान्य हुन्थ्यो भने आज (सोमबार) १८ दिनको तलब आउने तय थियो । इजरायलमा प्रत्येक १० तारिखमा तलब दिने नीति छ । तर, एकमहिना पनि पुग्न नपाउँदै उनले ज्यान गुमाएका छन् । उनीजस्ता १० जना नेपालीले पनि परदेशी भूमिमा अस्वभाविक मृत्युवरण गर्नुपरेको छ । 

‘अब सबैले एकदिन मर्नुपर्छ भनेर चित्त बुझाउनुको विकल्प छैन,’ विकास भन्छन्, ‘सरकारले इजरायलदेखि घरसम्म शव ल्याइदिने व्यवस्था गरिदिए हुन्थ्यो । सम्मानका साथ भाइलाई अन्तिम बिदाइ गर्ने इच्छा छ ।’

शव काठमाडौं मात्र ल्याएर छाडिदिएमा घरसम्म ल्याउन ४ दिन लाग्ने र शव गन्हाउने भएकाले शवबाहनहरूले पनि बोक्न नमान्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे ।

‘काठमाडौंबाट सेनाको हेलिकप्टरमा बझाङसम्मै ल्याइदिए कृतज्ञ हुने थियौैं,’ निकै भावुक मुद्रामा विकासले आफ्नो इच्छा जाहेर गरे ।

salt training

कमेन्ट गर्नुहोस्