
काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् ।
यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजारम अधिकारीले बताए ।
लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहोस हुने लक्षण देखिन्छ ।