
अनमोल केसीको आउँदो चलचित्र ‘फर्की फर्की’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
वि.सं २०८१ सालको जेठ ११ गतेबाट चलचित्र प्रदर्शनमा ल्याउने तय भएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।
निर्माता अधिकारीले वितरकसँग सल्लाह गरेर चलचित्रलाई जेठमा रिलिज गर्न लागेको बताए । यो चलचित्रको वर्कसप पनि सुरु भएको छ । वर्कसपमा चलचित्रका मुख्य अभिनेता अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र सम्बृद्धि अर्याल जोडिएका छन् ।
चलचित्रकी मुख्य अभिनेत्री जसिता गुरुङले भने केही दिनमै वर्कसप सुरु गर्ने निर्माणपक्षले बताएको छ ।
सुयोग गुरुङले निर्देशन गर्ने यो चलचित्रलाई लिएर अनमोल केसी निकै उत्साहित छन् । चलचित्रको कथा निकै नै राम्रो भएकाले आफू उत्साहित भएको अनमोल बताउँछन् ।

यो चलचित्रको छायांकन काठमाडौं, पोखरा, अन्नपूर्ण बेस क्याम्पमा गरिनेछ । साथमा, एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार हुन लागेको चलचित्रका सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । चलचित्रको छायांकन मंसिरको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र दिएका निर्माता अधिकारीले यसपटक दर्शकले प्रेमको कथामा बेग्लै स्वाद पाउने बताए ।
चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मले वितरण गर्नेछ । चलचित्रको अन्तराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।