
भारतको उत्तर प्रदेशस्थित रामपुरमा दुई श्रीमती भएका एक श्रीमान्को विवाद सुल्झाउन पञ्चायतले अनौठो फैसला सुनाएको छ। जेठी श्रीमतीले खर्च नपाएको भन्दै प्रहरी चौकीमा उजुरी दिएपछि शुरू भएको यो विवाद गाउँको पञ्चायतसम्म पुगेको थियो। घन्टौँसम्म चलेको पञ्चायतले श्रीमान् दुवै श्रीमतीसँग हप्ताको तीन-तीन दिन बस्नुपर्ने र बाँकी रहेको सातौँ दिन आफ्नो मनमर्जी अनुसार बिताउन पाउने निर्णय गरेको हो।
यसका साथै, श्रीमान्ले जेठी श्रीमतीको घरमा हरेक महिना खाद्यान्न (रासन) पुर्याइदिनुपर्ने र खर्चबापत प्रतिहप्ता ५०० रुपैयाँ दिनुपर्ने सर्तसमेत राखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । पञ्चायतको यो फैसलाको अहिले क्षेत्रभरि चर्चा भइरहेको छ।
रामपुरको दडियाल क्षेत्रमा बस्ने एक युवकको विवाह १४ वर्षअघि उत्तराखण्डकी एक युवतीसँग भएको थियो। उनीहरूका दुई छोरी छन्। तर, जेठी श्रीमतीबाट छोरा नभएको भन्दै युवकले करिब ४ वर्षअघि दोस्रो विवाह गरेका थिए। कान्छी श्रीमतीबाट पनि दुई छोरी नै जन्मिए पनि युवक कान्छी श्रीमतीसँगै बस्दै आएका थिए।
जेठी श्रीमतीले श्रीमान्ले आफ्नो बेवास्ता गरेको र पालनपोषण नगरेको आरोप लगाउँदै स्थानीय प्रहरी चौकीमा उजुरी दिएकी थिइन्। प्रहरीले घटनाको छानबिन गरिरहेकै समयमा गाउँमा पञ्चायत बसेको थियो। घन्टौँको छलफलपछि पञ्चहरूले आफ्नो फैसला सुनाएको समाचारमा उल्लेख छ ।
पञ्चायतले युवकलाई हप्ताको तीन दिन जेठी र तीन दिन कान्छी श्रीमतीसँग बस्न आदेश दिएको छ भने हप्ताको बाँकी एक दिन उनी आफ्नो इच्छाअनुसार जहाँ पनि बस्न स्वतन्त्र रहनेछन्।
पञ्चायतले गरेको यो निर्णयलाई दुवै पक्षले स्वीकार गरेका छन्। निर्णय सर्वसम्मत भएपछि जेठी श्रीमतीले प्रहरीमा दिएको निवेदन फिर्ता लिएकी छन्। स्थानीय प्रहरीका अनुसार दुवै पक्षको सहमतिमा सम्झौता भएपछि मामिला शान्तिपूर्ण रूपमा पञ्चायतबाटै समाधान भएको हो ।