०६ असार २०८३, शनिबार
कोशी प्रकरणपछिको राजनीति

शान्त नबनेको कोशीको छाल, हल्लिएको गठबन्धन र शेखरको आगामी यात्रा

असोज २९, २०८०
काठमाडौं
शान्त नबनेको कोशीको छाल, हल्लिएको गठबन्धन र शेखरको आगामी यात्रा

कोशी प्रदेशको मुख्यमन्त्री पाउनका लागि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका सांसदले गरेको विद्रोहले राष्ट्रिय राजनीतिमा एउटा तरङ्ग ल्याइदिएको छ । खास धेरै अधिकार नभएको र जनताको आक्रोशको केन्द्र बनेको प्रदेशको मुख्यमन्त्रीकै लागि कोइरालाले किन ठूलो जोखिम उठाएका होलान् भन्ने चर्चा पनि भइरहेको छ ।

खासमा कोशी प्रकरण, कांग्रेसभित्रको उकुसमुकुसको विस्फोट हो । संघदेखि प्रदेश र स्थानीय तहसम्म कांग्रेसको सरकार वा सहभागिता रहे पनि आमकांग्रेसी कार्यकर्ता सन्तुष्ट छैनन् । स्थानीयदेखि केन्द्रसम्म सत्ताको स्वाद चाखेका कांग्रेस नेताहरूले माओवादीसँगको गठबन्धनलाई स्वाभाविक मानिरहेका छन्, तर सत्ता बाहिर रहेका नेताहरू पार्टी माओवादीको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरिरहेका छन् । 

यही परिवेशमा कोशीमा ‘विद्रोही कांग्रेस’को सरकार बनेको छ । कोशीमा फुटेको भंगालो नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कोइरालाबीच शनिवार १ बुँदे सहमति भयो ।

चिर्कटोमा हातैले लेखेको त्यो सहमतिको मसी राम्रोसँग सुक्न नपाई औचित्य समाप्त भयो । मुख्यमन्त्री केदार कार्कीले कांग्रेस संस्थापनका कसैलाई सहभागी नगराई आफूलाई समर्थन गरेका एक र नेकपा एमालेका एकजनालाई मन्त्री नियुक्त गरे । एमाले सांसदलाई मन्त्री नियुक्ति गरेसँगै कांग्रेसको संस्थापन पक्ष झस्किएको छ ।

प्रचण्ड र देउवा

कोशीमा विकसित घटनाक्रमबारे नेताहरूका आफ्नै धारणा र विश्लेषण छन्, हेरौं नेताहरूको भनाइ :

तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरूले विद्रोह गर्नुभएको हो । कांग्रेसका नेताहरूले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो । एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भए पनि चुनावका नाममा हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेका हौं । 

केपी शर्मा ओली, आइतवार प्युठानको बिजुवारमा ।

एकथरी मान्छेहरू छट्पटिएका छन् । के गरी यो गठबन्धन उल्ट्याउन सकिन्छ भनेर लागेका छन् । गठबन्धनले सुशासनको पक्षमा काम गरेपछि । भारत, अमेरिका र चीनसँग राम्रो सम्बन्ध बनाउनु भनेको राजनीतिक स्थायित्व दिनु पनि हो । यसबाट अब कहिल्यै सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरी निकै विच्छिप्त भएको पनि महसुस भएको छ । कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे खेल्न सकिन्छ कि, विभाजन ल्याउन सकिन्छ भनेर लागे । कांग्रेस सभापति शेरबहादुर देउवा, म आफैं र नेता शेखर कोइरालाबीच सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ । र, अब यो गठबन्धन पूरै कार्यकाल चल्ने विश्वास दिलाउन चाहन्छु । 

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री

कोशी प्रदेशमा नयाँ समस्या खडा भयो, त्यसैले यो सरकारमाथि आशंका उठेको हुन सक्छ । तर, यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन, किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ । आफूलाई ठूलो भन्ने दल (एमाले)लाई पनि हामीले देखाइदिएका छौं । चुरीफुरी धेरै नगर्नुस्, तपाईंहरूका खुट्टी हामीले देखिसकेका छौं । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ । 

माधव नेपाल, आइतवार सुर्खेतमा 

शान्त नबनेको कोशीको छाल

कोशीमा ८ सांसदले गरेको विद्रोहले नेपाली कांग्रेसभित्र हलचल पैदा गर्‍यो । पुस १० गते भत्किएर राष्ट्रपति निर्वाचनमा फर्किएको गठबन्धन फेरि भत्किने भयमा कांग्रेस नेताहरू थिए । शेखर पक्षका ८ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि देउवाले असोज २६ गते केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाए । 

शेखर कोइराला अनुपस्थित भएपछि कांग्रेसको बैठक बस्न सकेन । तर, प्रदेश प्रमुखलाई भनेर मुख्यमन्त्री नियुक्ति प्रक्रिया रोकियो । केदार कार्की स्वयंले आफूलाई मुख्यमन्त्री दाबी गरेर हस्ताक्षर बुझाउँदा कार्कीको समेत हस्ताक्षर राखेर इन्द्र आङ्बोले दाबी गरेका थिए । 

बहुमत सदस्य स–शरीर हाजिर गर्न कार्यालयमा आएपछि प्रदेश प्रमुखसँग मुख्यमन्त्री नियुक्तिबाहेकको विकल्प थिएन । कोशीमा मुख्यमन्त्री नियुक्त हुँदै गर्दा काठमाडौंमा प्रचण्ड, देउवा र कोइरालाले ‘चिर्कटो सहमति’ गरेका थिए, केन्द्रमा रहेको सत्ता गठबन्धनलाई कायम राख्ने भनेर । कोशीमा भएको राजनीतिक घटनाक्रमबाट सबभैन्दा बढी प्रचण्ड झस्किएका थिए । उनकै प्रयासमा शेखरसँग सहमति भएको थियो । 

स्रोतका अनुसार शनिवार बिहान भएको भेटमा प्रचण्डले शेखरसँग केन्द्रमा त असर पर्दैन नि ? भनेर पटक–पटक सोधेका थिए । तर, एमालेको चलखेलका कारण कांग्रेस नेतासँग भएको सहमति कार्यान्वयन नभएकोमा प्रचण्डको विश्लेषण छ । 

‘कोशीमा दुईवटा गठबन्धन बने, एउटा हाम्रो र अर्को एमाले र असन्तुष्ट कांग्रेसको लाजमर्दो (गठबन्धन) । त्यसपछि धेरै मेहनत गरेर कांग्रेस सभापति शेरबहादुर देउवा, शेखर कोइराला र मैले यो गठबन्धनको बारेमा दृढ छौं भनेर कमिटमेन्टसहित हस्ताक्षर गर्‍यौं,’ प्रचण्डले सोमवार कैलालीको धनगढीमा भने, ‘एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त, फेरि भयो । एमाले मन्त्री छिराइहालेछन्, त्यो करेक्सन हुन्छ ।  जित्नलाई यही गठबन्धनले जित्छ ।’

शेखरको हस्ताक्षरसहित ‘चिर्कटो सहमति’ भएपछि शनिबारका लागि बोलाइएको कांग्रेस बैठक बस्दै नबसी स्थगित भयो । मुख्यमन्त्री नियुक्त कार्कीले काठमाडौं आएर शेरबहादुर देउवादेखि केपी ओलीसम्मलाई भेटे ।

कार्कीले ओलीलाई भेटेकोमा कांग्रेस सभापति देउवालगायत नेताहरू सशंकित छन् । संस्थापन र इतर समूहको कुनै गुटमा नरहेका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई ‘डढेलो’ बन्न नदिन संयमता जरुरी रहेको भन्दै ट्वीटरमा लामो लहरो लेखे । 

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले केन्द्र सरकार र गठबन्धनमा कुनै फरक नपार्ने दाबी गर्छन् ।

‘कोशीमा विकसित राजनीतिक घटनाक्रमले केन्द्रमा कुनै असर गर्दैन । प्रदेशलाई मध्यावधिमा जान नदिन मात्र यो घटनाक्रम भएको हो,’ खतिवडाले लोकान्तरसँग भने, ‘संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाउन सकेको भए राम्रो हुन्थ्यो, तर जो मुख्यमन्त्री भएपनि यसले ठूलो राजनीतिक आकार लिँदैन ।’

नियुक्तिपछि कोशीका मुख्यमन्त्री केदार कार्की

शेखरको राजनीतिक यात्रा

कोशी घटनाक्रम हुनुभन्दा केही दिन पहिला देउवाले आफ्नै निवासमा शेखरसँग लामो छलफल गरेका थिए । देउवाले कोइरालालाई ‘कांग्रेस फुटाउँदै हुनुहुन्छ रे !’ भन्ने गम्भीर आरोप लगाएका थिए । 

जवाफमा शेखरले ‘कांग्रेस फुटाएको अनुभव तपाईसँग नै छ, हामी कोइरालाले कांग्रेस कहिल्यै फुटाएका छैनौं, फुटाउँदैनौं,’ भनेको विश्वस्त स्रोतको दाबी छ ।

१४औं महाधिवेशनमा देउवाविरुद्ध प्यानल बनाएर लडेका शेखर सभापतिसँग कहिले नजिक र कहिले टाढाजस्तो देखिएका छन् । 

देउवाले कांग्रेसलाई ‘माओवादीकरण’ गरिरहेको आरोप शेखरले लगाउँदै आएका छन् । सत्तारुढ भइकन पनि शेखरले प्रतिपक्षी नेताले जस्तो सरकार र प्रधानमन्त्रीका काम तथा अभिव्यक्तिको आलोचना गरिरहेका छन् । ‘पहिचानको प्रदेश बनाउन माओवादीलाई बहुमत दिनुपर्छ,’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर शेखरले प्रधानमन्त्रीले अराजकता मच्चाएको भनी टिप्पणी गरे ।

माओवादीको रोडम्यापमा चलेर पार्टीको शाख गिराउन लागेको भन्दै कांग्रेसका कतिपय नेता/कार्यकर्ताले शेखरले चालेको कदमप्रति सहानुभूति राखिरहेका छन् । ‘स्वयं देउवा क्याम्पका नेताहरूले पनि कोशीमा भएको घटनक्रमलाई समर्थन गरेका छन्, तर खुलेर बोल्न सकेका छैनन्,’ संस्थापनइतर समूहका एक नेताले लोकान्तरसँग भने । 

कोशीमा उठाएको जोखिमका कारण शेखर कोइराला पार्टीभित्र कमजोर हुने टिप्पणी पनि भइरहेका छन् । कोइरालाले चालेको कदममा महामन्त्री गगन थापा समेत सहमत छैनन् । कोशीमा सांसदहरूले हस्ताक्षर शुरू गरेपछि कोइरालाले महामन्त्रीद्वय थापा र शर्मासँग कुरा गर्न खोजेका थिए, तर दुवैले फोन उठाएनन् । 

शेखर कोइराला

महामन्त्रीहरूले फोन नउठाएको भन्दै शेखरले असन्तुष्टि जनाएका थिए । कोशीमा दलीय ह्वीपविपरीत सांसदले विद्रोह गरेकोमा कोइराला पक्षकै नेता गुरुराज घिमिरेले समेत सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए ।

मेडिकल कलेज सञ्चालक विवादास्पद सुनिल शर्माहरू हर्ताकर्ता बनेकोमा कोइराला क्याम्पकै नेताहरू पनि असन्तुष्टि भने देखिएको छ । तर, संस्थापनइतरका अधिकांश नेताले यसलाई शेखरको जीतका रूपमा व्याख्या गरिरहेका छन् ।

‘अहिलेसम्म उपेक्षा गरिएका शेखरलाई शक्ति मानेर प्रचण्ड र देउवाले संयुक्त हस्ताक्षर गर्नुभयो, पहिलोपटक रिकग्नाइज गर्नुभयो,’ कोइराला पक्षका एक नेताले लोकान्तरसँग भने ।

बालुवाटारमा हुने बैठकमा देउवाले महामन्त्रीद्वय तथा शेखर लगायतका नेता नभई पार्टीमा कुनै भूमिकामा नरहेका कृष्ण सिटौलालाई लग्ने गरेका थिए । 

पार्टीभित्र अलग पहिचान र फरक भूमिका निर्वाह गर्दै आएका शेखर कांग्रेसलाई सशक्त बनाउने अभियानमा लागिरहने उनीनिकट नेताहरूको भनाइ छ ।

‘हामीले कोशीलाई कुनै हारजीतको रूपमा भन्दा कांग्रेसको साख, पहिचान र सामर्थ्य उजागर गर्ने घटनाका रूपमा लिएका छौं,’ कोइराला निकटका एक नेताले लोकान्तरसँग भने । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी संसदीय दलको नेता परिवर्तन गरेर भए पनि कोशीमा कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने महामन्त्रीद्वयको प्रस्ताव सभापति देउवाले अस्वीकार गर्दा दुर्घटना निम्तिएको बताउँछन् ।

‘एटेम्ट गरेर पनि कोशीमा असफल भएको भए शेखरका लागि ब्याकफायर हुन्थ्यो, त्यस्तो भएन । कोशी घटनाबाट शेरबहादुरको कमान्ड कमजोर बन्दै गएको जस्तो देखियो,’ सिवाकोटीले भने ।  

कोशी घटनाकै कारण शेखर–गगन सम्बन्धमा दरार आइसकेको भनेर विश्लेषण गर्न नहुने उनको टिप्पणी छ ।

‘उहाँहरू मुद्दा मिलेर एक ठाउँमा हुनुभएको हो, मुद्दा मिलुञ्जेल एक ठाउँमा रहने हो, पछिल्लो समय केही मतभेदजस्तो देखिएको चाहिँ अवश्य हो’ सिवाकोटीले भने, ‘यसलाई मात्र हेरेर सम्बन्धमा दरार आइसकेको भन्नु उचित हैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्