
सैनामैना व्यापार संघले मुर्गीयामा दशैं सस्तो पसल सञ्चालनमा ल्याएको छ ।
राजमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसूचीसहित शुरू भएको सस्तो पसल तीन दिनसम्म चल्ने संघले जनाएको छ ।
सस्तो पसलको बुधवार बिहान एक समारोहबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले शुभारम्भ गरेका हुन् । उनले सस्तो पसलमा राखिएको उपभोग्य सामान खरिद गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
व्यापार संघले सस्तो पसल शुभारम्भकै अवसरमा दशैं, तिहारलगायतका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।

सस्तो पसलमा नुन, तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवीदत्त सुवेदीले बताए । सकेसम्म सस्तो, सुलभ र सहज तरिकाले बजार सञ्चालनको पहल गरिएको सुवेदीको भनाइ छ ।
चाडपर्वका अवसरमा अरू बेलाभन्दा धेरै वस्तुको उपभोग हुने भएकाले सस्तो पसल शुरू गरिएको संघका प्रथम उपाध्यक्ष दीपेन्द्र ढकालले बताए ।
उपभोक्ताहरूले सुविधाअनुसार र तोकिएको परिमाणमा सस्तो बजारबाट सामान किन्न सक्ने छन् ।
संघका महासचिव भीम सुवेदीका अनुसार हरेक उपभोग्य वस्तुहरूको मूल्य सूची राखेर सामग्री बिक्री वितरण हुनेछ ।