
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।
बडादशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता ३ करोड ३० लाख हाराहारीमा ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।
पहिलो चार दिनमा २ करोड हाराहारी कमाइ गरेको चलचित्रले मंगलवार, बुधवार र बिहीवार १ करोड ३० लाख ग्रस कमाएको निर्माता राजेश वंशलले जानकारी दिए ।
चलचित्रले दोस्रो सातामा पनि राम्रो व्यापार गर्ने देखिएको छ । माउथ पब्लिसिटी राम्रो भएको कारण चलचित्रलाई दोस्रो सातामा पनि राम्रो शो मिलेको छ। शुक्रवारको बुकिङ पनि उत्साहजनक देखिएको छ ।

‘चलचित्र हेर्नुभएका दर्शकले यसलाई राम्रो भनेर सामाजिक सञ्जालमा शेयर गरिरहनुभएको छ । जसका कारण झनपछि झन दर्शकहरू बढिरहनुभएको छ’ निर्माता वंशलले बताए ।
उनका अनुसार काठमाडौंमा भन्दा मोफसलका हलमा चलचित्र राम्रो चलेको छ । नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेतमा चलचित्रको कमाइ राम्रो रहेको उनले बताए ।

अध्ययनका लागि विदेशिने युवाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला लगायतको अभिनय छ ।
चलचित्रले दर्शकबाट राम्रो साथ पाएपछि शीर्ष अभिनेता प्रकाशसंगै अभिनेत्रीद्वय केकी र वर्षा राजधानीसहित नारायणगढ, बुटवल र नेपालगञ्जका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै खुशी साटेका थिए ।

चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई चलचित्रमा देखाइएको छ ।
चलचित्र हेरेर हलबाट निस्किँदै गरेका दर्शकले आजको नेपाली समाजको प्रतिनिधि कथामा चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् । चलचित्र हेरिरहँदा दर्शकको आँखा रसाएको थुप्रै भिडियोहरू टिकटकमा समेत छ्यापछ्याप्ती छन् ।