
जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर १ सय ५३ जनाले ज्यान गुमाए । २ सय जनाभन्दा बढी घाइते भए । थुप्रै परिवार प्रभावित भएका छन् । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण भइरहेको छ ।
यस्तोमा नेपाली सेलिब्रिटीहरू पनि भूकम्प प्रभावितको राहतमा जुटेका छन् ।
नेपाली फिल्म, साङ्गीतिक एवं हास्यव्यंग्य क्षेत्रका सेलिब्रिटीले आफूले सक्नेअनुसारको सहयोग घोषणा गरिरहेका छन् । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मस् प्रोडक्सनले प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ जम्मा गरेको छ । निर्माता सन्तोष सेनले यसबारे जानकारी दिएका छन् ।
सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा ५० हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । भूकम्पपछिको असहज परिस्थितिलाई ध्यानमा राख्दै सिस्नुपानी नेपालले २५ वर्षदेखि तिहारमा गर्दै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नगर्ने समेत जनाएको छ ।
भूकम्प प्रभावितका लागि अभिनेता पल शाहले ५० हजार रूपैयाँ सहयोग गरेका छन् । उनले सामाजिक संस्था हाम्रो टिम नेपालमार्फत उक्त सहयोग गरेका हुन् । हाम्रो नेपालका सदस्यहरू केही सहयोग सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा गएका छन् ।
प्रदर्शनरत फिल्म ‘परदेशी २’ले भूकम्प प्रभावितका लागि ५१ हजार रूपैयाँ सहयोग गर्ने भएको छ । भूकम्प प्रभावितका लागि स्थापित सरकारी कोषमा उक्त रकम जम्मा गर्ने फिल्मका निर्देशक नारायण रायमाझीले जानकारी दिए ।
गायक बद्री पंगेनीले भूकम्प प्रभावितका लागि २५ हजार रूपैयाँ सहयोगको घोषणा गरेका छन् । चर्चित टिकटकर अंशु बर्माले भूकम्प प्रभावित क्षेत्रमै पुगेर पीडितलाई सहयोग गरेर फर्किएका छन् ।
अन्य सेलिब्रिटीहरू समेत राहतमा जुटेका छन् ।