
शुक्रबारबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत युट्युबबाट रिलिज गरिएको छ ।
चलचित्रमा समावेश ‘हजुरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
यो गीतमा जयन जे वाइवा र मीना निरौलाको स्वर छ । गीतमा शब्द रचना र संगीत पनि वाइवाकै हो ।
गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाई समेत देख्न सकिन्छ ।
गीतका शब्दहरू मर्मस्पर्शी छन् । मर्मस्पर्शी संगीतमा गायक वाइवा र निरौलाको स्वरले गीतलाई न्याय गरेको छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया लगायतको अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि चलचित्रको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र सामाजिक–राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।
चलचित्रको निर्माता रौनक विक्रम कंडेल हुन् ।