![सडकमा फूल बेच्न नदिएको भन्दै व्यापारीको आक्रोश– बिक्री नभएको सिंहदरबारमा फाल्दिन्छौँ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/phul_main_CscsJ3PYbJ.png)
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् ।
फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात–हातमा फूल लिएर सडकमा बस्न बाध्य छन् ।
काठमाडौं महानगरपालिकाले यसपटक भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणबाट तिहारलाई लक्षित गर्दै फूल बिक्री वितरण गर्न दिएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँग संयुक्त पहल गरेर फूल बिक्रीस्थल तोकिएको महानगरपालिकाले जनाएको छ ।

आफूहरूले उत्पादन गरेको फूललाई ठाउँ नै तोकेर व्यापार गर्न दिएकोमा नेपाली किसान महानगरप्रति आभारी नै देखिए । तर महानगरले न्युरोडलगायत क्षेत्रमा भने खुलेआम भारतीय फूललाई हात–हातमा बेच्न दिइएको भन्दै उनीहरूले आपत्ति व्यक्त गरेका छन् ।
‘शनिवार राति १ बजेदेखि आइतबार मध्यान्हसम्म १ झुप्पा मात्र फूल बिक्री भएको छ । जबकि मैले ६० झुप्पा ल्याएको छु,’ काभ्रेपलाञ्चोक कोशीपारि घर बताउने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीलाई २ दिनका लागि मात्र भए पनि न्युरोड–असन क्षेत्रमा बेच्न दिन पर्यो ।’

त्यस्तै २०६० सालदेखि निरन्तर फूलको व्यापार गर्दै आएका अशोक सिंजालीको दुःख पनि उस्तै छ ।
करिब २ लाख ४ हजारको लगानी गरेर धुलिखेलबाट ल्याएको फूल–मालाको व्यापार जम्मा ४ हजारको मात्र भएको छ,’ उनले भने, ‘न्युरोड–असन क्षेत्रमा भारतीय फूललाई खुलेआम बेच्न दिइएको छ । चाडबाडको बेला त हामीलाई पनि बेच्न दिए हुन्थ्यो ।’
यदि बिक्री नभएमा सबै बचेको फूल सिंहदरबार र संसद् भवनअगाडि फालिदिने सिंजालीले आक्रोश पाखे ।

‘साथीहरू सबैले मानेदेखि यो सबै फूल सिंहदरबार र संसद् भवनअगाडि फालिदिने थिएँ,’ उनले फूलतिर हात बढाउँदै भने ।
त्यस्तै काभ्रे कोशीपारिबाटै आएकी चन्दामाया तामाङ जुनसकै सरकार आए पनि साना व्यापारीले दुःख नै पाइरहेको गुनासो गरिन् ।

गाउँमा बाँझो भएका खेतमा फूलखेती गरेर काठमाडौंमा बेच्न ल्याउँदासमेत ग्राहक नपाएकोमा उनी दुःखी देखिन्थिन् ।

‘अनि यस्तै हो भने खाडी नगइ सुख छ त !’ सरकारमा बस्नेहरूप्रति लक्षित गर्दै उनले भनिन् ।

हेरौं भिडियोः