काठमाडौं, १० असोज– नेपालमा विदेशी पर्यटक आउने समय शुरु भएसँगै होटल बुकिङ गर्ने क्रम चलेको छ । नेपालका पर्यटकीय हब मानिने राजधानी काठमाडौं, चितवनको सौराहा र पोखराका होटलहरु बुकिङ गर्ने क्रम शुरु भएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाट्टा) ले जनाएको छ ।
गत वर्ष भन्दा यो वर्ष पर्यटकहरुको संख्या केही बढ्ने अनुमान गरिएको छ । भुकम्पपछिको गलत सन्देशका कारण अत्यन्तै घटेका पर्यटकहरु यो वर्ष १५ देखि २० प्रतिशत बढ्ने अनुमान गरिएको नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले लोकान्तरलाई बताए ।
सरकारले नेपालमा पुरातात्विक सम्पदाहरु जिर्णोद्वार तथा पुनर्निमाणको काम पूरा गर्न नसक्दा पर्यटकहरु बढ्नै नसकेको आचार्य बताउँछन् । ‘सरकारले पर्यटन क्षेत्रको विकास लागि काम गर्नै सकेको छैन, विभिन्न योजनाहरु बनाउँदा अत्यन्तै हल्का ढंगले बनाउँछ, जसका कारण पर्यटकहरु बढ्ने कुरा गफ मात्रै सिमित छन् ।’ लोकान्तरसँगको कुराकानी आचार्यले भने, ‘विश्व बजारमा करोड पर्यटक भित्र्याउँदा हामी ८ दश लाखमा सिमित छौं ।’
होटल व्यवसायी देवेन्द्र वाग्लेले अपेक्षा गरिएजस्तो बुकिङ हुन नसकेको बताए । पर्यटकीय मौसम शुरु मात्रै भएकाले नतिजा अनुमान गर्न नसकिए पनि पर्यटकहरुको आगमनमा राम्रो बृद्धि भने हुने लक्षण नदेखिएको वाग्ले बताउँछन् ।
उपत्यकाबाहिरको महत्वपूर्ण पर्यटकीय शहर पोखरामा पनि पर्यटकहरुले होटल बुकिङ शुरु गरिसकेका छन् । ट्राभल एजेन्सीहरु, अनलाइन बुकिङ बढिरहेको क्षेत्रीय होल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
भुकम्पका कारण अन्तर्राष्ट्रिय बजारमा पुगेका अनावश्यक हल्लाको प्रभाव विस्तारै कम भइरहेको बेला यो वर्षको आएको ठूलो बाढीले सौराहाको पर्यटनका असर परेको घिमिरे बताउँछन् । बाढीकै कारण सोचेजस्तो अनुपातमा होट बुकिङ हुन नसके पनि विस्तारै भइरहेको घिमिरेले बताए ।
उता पोखरामा पनि पर्यटकहरु होटल बुकिङ गर्ने क्रम बढेको पश्चिमाञ्चल होटल एशोसिएनले जनाएको छ ।