०७ असार २०८३, आइतबार
चाडबाडमा जुवातासको विकृति

दशैंयता मात्र २ सयभन्दा बढी जुवाडे पक्राउ, साढे १७ लाख बरामद

कात्तिक २८, २०८०
काठमाडौं
दशैंयता मात्र २ सयभन्दा बढी जुवाडे पक्राउ, साढे १७ लाख बरामद

चाडबाडको समयमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेका समाचार आइरन्छन् ।​ विशेष गरेर यतिबेला बिदा हुने भएकाले घरमा रमाइलोका लागि तास खेल्ने धेरै हुन्छन् । ​जुवाडेहरू पनि यही समयको फाइदा उठाउँदै सक्रिय हुने गरेका छन् ।

प्रहरीले कात्तिक २१ गते नागार्जुन नगरपालिका– ३ पानधाराबाट २२ जनालाई पक्राउ गर्‍यो, त्यसमा एनआरएनएका पूर्व पदाधिकारी समेत थिए । 

प्रहरीले त्यहाँ पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले रमाइलोका लागि खेलेको पाइएकाले नाम सार्वजनिक नगरेको बताए । प्रहरीले ४ लाख ९२ हजार ५५० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार त्यो २२ जनामा नाम चलेका व्यक्तिहरू पनि थिए । 

प्रहरी स्रोतकाअनुसार एनआरएनएका पूर्वउपाध्यक्ष तथा ११औं महाधिवेशनमा निर्वाचन समितिको सदस्य रहेका टेकबहादुर (टीबी) कार्की, एनआरएनएमै आबद्ध सञ्जय मुडभरी, काठमाडौंमा कार्यरत बहालवाला प्रहरी अधिकृतका सहोदर भाइ राजु जीसी, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी लगायत पक्राउ परेका थिए । 

पक्राउ पर्नेमा सरोज अधिकारी, श्यामबाबु तामाङ, नवराज तामाङ, चित्र तामाङ, विष्णुलाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, लोकबहादुर बोहरा, केशवराज अधिकारी, भरत बोहरा, विशाल तामाङ, विकास खत्री, लोकबहादुर तामाङ, निरबहादुर वाइबा, रामबहादुर लामा र लोकबहादुर श्रेष्ठ पनि रहेको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।

त्यही दिन काठमाडौं प्रहरीले नार्गाजुन २ बाट ६ जनाको अर्को टोलीलाई २ लाख ११ हजार २ सय रुपैयाँसहित पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरको तथ्यांकअनुसार दशैंतिहारको बीचमा १ सय जना पक्राउ पर्दा २१ लाख २६ हजार १५ रुपैयाँ बरामद भएको प्रहरीको तथ्यांक छ ।

कात्तिक ३ गते १ हजार ८३५ रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको थियो । कात्तिक ८ गते ३ लाख ८६ हजार २ सय रुपैयाँसहित ७ जना, १२ गते अनामनगर घट्टेकुलोबाट १ लाख ९० हजार ९ सय रुपैयाँसहित ९ जना, १९ गते बूढानीलकण्ठको होटलबाट २३ हजार ६८० रुपैयाँसहित ७ जना पक्राउ परेका थिए । 

यस्तै गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्तीबाट ५४ हजार ७५० सहित ५ जना, तारकेश्वर नगरपालिकाबाट १९ हजारसहित ७ जना, काठमाडौं धुम्बाराही पिपलबोटबाट २ लाख ९२ हजारसहित ६ जनालगायत गरी १ सय जना पक्राउ परेको एसपी कुमोद ढुंगेलले लोकान्तरलाई बताए । 

ललितपुर प्रहरीले कात्तिक १४ गते गोदावरी नगरपालिका– १० टाहाखेलस्थित कुमार भन्ने टुकनाथ घिमिरेको घरबाट ८ जनालाई २ लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहका अनुसार दशैं तिहारको बीचमा १६ लाख ३९ लाख ६३५ रुपैयाँसहित ४३ जना पक्राउ परेका छन्, त्यसमा १६ जना महिला छन् ।  प्रहरीले ९ वटा मुद्दा दर्ता गरेको छ । 

‘पक्राउ परेका सबैलाई मुद्दा दर्ता गरेका छौं । उनीहरूबाट साढे १६ लाख हाराहारीमा बरामद भएको छ,’ एसएसपी शाहले लोकान्तरसँग भने ।

ललितपुर परिसरले पनि एउटै खालबाट ९ लाख रुपैयाँदेखि ६२ हजार रुपैयाँसम्म बरामद गरेको छ ।

यस्तै भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार दशैंतिहारको बीचमा ४६ जना पक्राउ परेका छन् ।

उनका अनुसार कात्तिक १२ गते १ लाख ४ हजार ६५० रुपैयाँसहित १५ जना, १८ गते २५ हजार ६५५ रुपैयाँसहित १० जना लगायतलाई पक्राउ गरिएको छ । भक्तपुर प्रहरीले उनीहरूको साथबाट २ लाख ८४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । 

यस्तै उपत्यकाबाहेकका जिल्लासमेत गरी प्रहरीले २०४ जनालाई १७ लाख ६१ हजार १७७ रुपैयाँसहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । 

उनका अनुसार कोशी प्रदेशबाट ५५ हजार ६० रुपैयाँसहित ४ जना, मधेश प्रदेशबाट ८८ हजार ३९० रुपैयाँसहित २८ जना,  बागमती प्रदेशमा ५ लाख ६ हजार रुपैयाँसहित ३२ जना, गण्डकी प्रदेशबाट १ लाख ६० हजार ६८५ रुपैयाँसहित ८ जना, कर्णाली प्रदेशबाट ३ लाख ५८ हजार रुपैयाँसहित ४० जना र सुदूरपश्चिम प्रदेशबाट ३ लाख ७१ हजार रुपैयाँसहति ५० जना पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्