
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्ष संगठन(युएण्टो)को कागमती प्रदेश समितिले आयोजना गरेको विशेष प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले इसिडि शिक्षक, विद्यालय कर्मचारी, राहत, उमावि शिक्षकलगायत सबैको मागको संसदबाट पारित हुने संघीय शिक्षा ऐनले न्यायोचित सम्बोधन गर्ने स्पष्ट पारे ।
पार्टीले लामो समय शिक्षा मन्त्रालय सम्हाले पनि संसदीय अंकगणित र एकल सरकार नहुँदा शिक्षकका अपेक्षित माग र मुद्दाहरु सम्बोधन गर्न नसकिएको उनको भनाइ थियो ।
अब संसदबाट पारित हुने संघीय शिक्षा ऐनले लामो समयदेखि शिक्षा र शिक्षकमा रहेको सबै समस्याको समाधान गर्दै विद्यार्थीलाई संविधानले व्यवस्था गरेको शिक्षाको अधिकार प्रदान गर्ने उनको भनाइ थियो । अबको केही वर्ष निजी विद्यालयहरु रहेपनि विस्तारै व्यवस्थित गर्दै लगिने स्पष्ट पार्दै पुनले सार्वजनिक विद्यालय शिक्षा पूर्ण निशुल्क हुने दाबी गरे । अब सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्दै पूर्ण निशुल्क बनाइने र पैसा हुनेले मात्रै महँगो शुल्क तिरेर निजी लगानीका विद्यालयमा पढाउन पाउने व्यवस्था गरिने उनको भनाइ थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीले २०३६ सालमा जुन माग र मुद्दा उठाएर शिक्षक आन्दोलन शुरु भएको थियो आजका दिनसम्म पनि सोही माग र मुद्दामै शिक्षकहरु आन्दोलित हुनु परेको गुनासो गरे ।
यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) बागमती प्रदेश समितिका अध्यक्ष शंकर अधिकारीले सबैखाले उत्पीडित शिक्षक कर्मचारीको अधिकार सुनिश्चितताका लागि संगठन सक्रिय रहेको स्पष्ट पारे ।