३१ असार २०८३, बुधबार
रविको राजनीतिक प्रतिवेदन

पुराना दलले मिसन ८४ चोरेको भन्दै रविको चुनौती– मध्यावधिमा जाऔं

मंसिर १४, २०८०
काठमाडौं
पुराना दलले मिसन ८४ चोरेको भन्दै रविको चुनौती– मध्यावधिमा जाऔं

परम्परागत दलहरूले मिसन– २०८४ को चुनावी नारा चोरेका भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि चुनावको प्रस्ताव गरेका छन् ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्दै बाँकी तीन वर्ष काम नगरी चुनाव नै ताक्ने हो भने मध्यावधिमा जान दलहरूलाई चुनौती दिएका हुन् । 

‘एकातिर मुलुक झन्झन् उँधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने, त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं,’ २०८४ को मिसनमा अरू दल पनि पछाडि लागेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हैन भने यही बेथितिको निरन्तरतासहित अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ? पुराना दलहरू आफू–आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् ।’

दलहरू संकटमा रहेकाले यस्तो भनेको उनले बताए । यसैले मिसन ८४ को नारा फेरिन पनि सक्ने भन्दै पार्टीका सबै संरचनालाई 'स्ट्यान्ड बाइ' रहन समेत उनले निर्देशन दिएका छन् । 

‘वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई ‘स्ट्यान्ड बाइ’ रहन निर्देशन दिन्छु,’ रविले पार्टी पंक्तिलाई भनेका छन् ।  

तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दललाई जनादेश खाँचो नपर्ने भन्दै उनले आफूहरूको नारा चोरेर लाचार बनेको आरोप पनि लगाए । 

‘भनिन्छ, सबै मान्छे स्वर्ग जान त चाहन्छन्, तर मर्न चाहन्नन् । त्यस्तै भएको छ, मिसन ८४ को हकमा पनि । तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दल पनि मिसन ८४ भन्न थालेका छन्,’ रविले भनेका छन्, ‘जबकि, देशको आवश्यकता र जनचाहनाअनुसार काम गर्न उनीहरूलाई नयाँ जनादेशको खाँचो नै छैन । उनीहरूले त अहिले नै रुपान्तरणसहित समृद्धिको मिसन चलाउन सक्छन् । तर, हाम्रै नक्कल गरेर मिसन ८४ भन्नुपर्ने बाध्यतामा छन्, उनीहरू पनि ।’

मिसन ८४ मा सफल हुन इमान्दार उम्मेदवार भित्र्याउँदा टीमभित्रका नेता पछाडि हट्न पनि तयार हुनुपर्ने उनको मत छ । 

‘मिसन ८४ भनेको पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान पनि हो । यस अभियानमा हाम्रो एजेन्डाको जानकारीसहित धेरैभन्दा धेरै नागरिकबीच पुग्न सक्नुपर्छ । पार्टीमा योग्य, क्षमतायुक्त र इमान्दार उम्मेदवारलाई भित्र्याउने र अगाडि बढाउने अभियान पनि हो मिसन ८४,’ रविले भनेका छन्, ‘यसको अर्थ, यो अभियान आफू पछि हटेर भए पनि टीमभित्र स्वच्छ छवि, स्पष्ट भिजन भएको इमान्दार र क्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने अभियान हो ।’

८४ को चुनावमा सफल हुन चुस्त संगठन, विकृति विसंगतिविरुद्ध खबरदाबरी र नागरिकका मुद्दामा एकाकार हुनुपर्ने उनको भनाइ छ । 

‘मिसन ८४ भनेको धैर्यताको अभियान पनि हो । आउँदो चार वर्ष संगठनलाई चुस्त बनाउँदै विकृति विसंगतिको खबरदारी र नागरिकका मुद्दामा एकाकार हुन सक्यौं भने पनि हामी थप स्थापित हुनेछौं । राजनीतिमा स्थापित हुन गुट, उपगुट, सदस्यता खरिद, घात, अन्तर्घातको राजनीति अबको पुस्ताले गर्नु पर्दैन,’ रविले भनेका छन्, ‘मिसन ८४ आफ्नै पारदर्शिताको अभियान पनि हो । हरेक पदाधिकारीले अब आफ्नो जीवनयापनको स्रोत सार्वजनिक गर्नुपर्छ । राजनीतिलाई जीवनयापनको माध्यम बनाउने होइन । जीवन धान्न धौधौ परेको साथीलाई उद्यममा सघाऔं, सक्रिय राजनीतिमा होइन । सके लिडर, नसके भोटर मात्र हुँदा पनि केही फरक पर्दैन, पर्नु हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्