२० असार २०८३, शनिबार

२ नम्बरमा कांग्रेस चम्कियो, कहाँ–कहाँ खुस्कियो माओवादी ? (सातै प्रदेशको तथ्यांकसहित)

कात्तिक २०, २०७४
२ नम्बरमा कांग्रेस चम्कियो, कहाँ–कहाँ खुस्कियो माओवादी ? (सातै प्रदेशको तथ्यांकसहित)
काठमाडौं– तीन चरणको स्थानीय तह निर्वाचनबाट नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो पार्टी बन्न सफल भएका छन् । यस्तै माओवादी केन्द्र तेस्रो भएपनि सन्तोसजनक परिणाम भने ल्याउन सकेन ।

माओवादीले ‘गाउँगाउँमा सिंहदरबार आफ्नै एजेण्डा आफ्नै नेतृत्व’ भनेपनि जनमत भने एमाले र कांग्रेसको पक्षमा देखिएको छ । स्थानीय तहको तीनै चरणमा गरी एमालेले २९४ स्थानीय तह जितेको छ भने कांग्रेसले २६६ जितेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले १०६ स्थानीय तह जितेको छ भने संघीय समाजवादी फोरमले ३०, राजपा २५, लोकतान्त्रिक फोरम ९ र अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २३ तह जितेका छन् ।

५ प्रदेशमा एमाले अब्बल

प्रदेश नम्बर २ र ४ बाहेक बाँकी ५ प्रदेशमा एमाले अब्बल देखिएको छ । एमालेले २ नम्बर प्रदेशमा १८ र ४ नम्बर प्रदेशमा ३४ तह जितेको छ । यी २ नम्बर प्रदेशको ५२ तह बाहेक बाँकी ५ प्रदेशबाट एमालेले २४२ तह जितेको छ ।

प्रदेशगत तथ्यांक यस्तो छ, कुन दलले कति तह जिते

प्रदेश १

तथ्यांक विश्लेषण गर्दा प्रदेश नम्बर १ मा एमालेले ६९ कांग्रेसले ५१ माओवादी केन्द्र, मात्र ९ तह जितेको छ । यस्तै फोरम लोकतान्त्रिकले ३, संघीय समाजवादी फोरमले १ र अन्य दलले ४ तह जितेका छन् ।

प्रदेश २

प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले ४० एमालेले १८ तह जितेको छ । यस्तै २ नम्बरमा संघीय समाजवादी फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, लोकतान्त्रिक फोरमले ३ र अन्य दलले तीन तह जितेका छन् । एमालेको स्थानीय चुनावमा २ नम्बर प्रदेश कमजोर देखिएको हो भने कांग्रेस चम्किएको देखिएको छ ।

प्रदेश ३

प्रदेश नम्बर तीनमा एमालेले ६४ तह जितेको । यस्तै कांग्रेसले ३५, माओवादी केन्द्रले १७ र अन्य दलले ३ तह जितेका छन् ।

प्रदेश ४

प्रदेश नम्बर ४ मा कांग्रेसले ४४ तह जितेको छ भने एमालेले ३४ तह जितेको छ । यस्तै माओवादी केन्द्रले ५ तह जित्दा अन्य दलले २ तह जितेका छन् । यो तहमा माओवादी केन्द्र कमजोर देखिएको छ भने कांग्रेस र एमालेबीच नै टक्कर देखिएको छ ।

प्रदेश ५

यो प्रदेशमा एमालेले ४३, नेपाली कांग्रेसले ३३, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ३ लोकतान्त्रिक फोरमले २ तह जित्दा स्वतन्त्रसहितका साना दलले ९ तह जितेका छन् ।

प्रदेश ६

प्रदेश नम्बर ६ मा एमालेले २७, कांग्रेसले २५, माओवादी केन्द्रले २५ तह जित्दा अन्य दलले २ तह जितेका छन् । यो प्रदेश माओवादीको प्रभाव रहेको प्रदेश ठानिएपनि कांग्रेसाग बराबरी देखिएको छ भने एमालेले २ तह बढी ल्याएको छ ।

प्रदेश ७

७ नम्बर प्रदेशमा एमालेले ३९ तह जित्दा कांग्रेसले १ तह कम ३८ तह जितेको छ । यस्तै माओवादी केन्द्रले १० तह जित्दा फोरम लोकतान्त्रिकले एक तह जितेको छ ।

गत बैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । बैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन भएको थियो भने असार १४ मा प्रदेश नम्बर १,५ र ७ मा भएको थियो । प्रदेश नम्बर २ मा चाहिँ असोज २ मा निर्वाचन भएको थियो ।

योसँगै संविधान निर्माणको एउटा चरण पार भएको ठानिएको छ । निर्वाचन आयोगले आगामी मंसिरमा दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको छ । सो निर्वाचन सम्पन्न भएसँगै संविधान पूर्णरुपमा कार्यान्वयनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्