
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)को नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले जानकारी दिइन्।
००००
गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिई कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । गृहमन्त्री गुरुङ शुक्रबार साँझ कोशी प्रदेशका केही सीमा नाकाहरूको निरीक्षणमा पुगेका हुन्।
सुरक्षा निकायका माथिल्लो तहका अधिकारीहरूलाई समेत पत्तो नदिई उनी कोशीका तराईका जिल्लाहरूमा केन्द्रित भएका छन्।
केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकाको निरीक्षण गरेका मन्त्री गुरुङ शुक्रबार साँझमा सुनसरीका विभिन्न नाकाहरू पुगेका थिए। सुनसरीको वस्तुस्थिति बुझेर उनी मोरङ छिर्ने तयारीमा छन् ।
००००
जारी विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
डलास स्टेडियममा शनिबार बिहान सम्पन्न खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
००००
नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ ।
विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
००००
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ ।
विभागले एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जनाएको हो । साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको हो ।
००००
कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा रहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।
००००
काठमाडौँ उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकासहित मुलुकका एक सय स्थानमा बर्डफ्लु फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । उनका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुनेगरी काम/गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ ।
००००
गृह मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन र नागरिकताबाट वञ्चित योग्य व्यक्तिको विवरण सङ्कलन गरी कानुनअनुसार नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रअनुसार गत असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्या सम्बन्धमा भएको छलफलपछि उक्त निर्देशन दिइएको उल्लेख छ। सचिवस्तरीय निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
००००
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने रु २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्न र सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् ।पार्टीका सांसदलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्लेटफर्म (पल्स आरएसपी) र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।
००००
त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।
नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा छन्।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो ।
००००
नेकपा (एमाले)ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादन सुशासन, शासकीय सुधार, आर्थिक व्यवस्थापन र संविधान कार्यान्वयनका दृष्टिले पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।
एमाले महासचिव शंकर पोखरेलले शुक्रबार सार्वजनिक गरेको सरकारको १०० दिनको समीक्षामा सरकारले घोषणा गरेका अधिकांश प्रतिबद्धता पूरा गर्न नसकेको बरु अपरिपक्व, विवादास्पद र प्रतिशोधपूर्ण शैलीमा शासन सञ्चालन गरेको आरोप लगाइएको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ३० अङ्कले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अङ्कमा सीमित भएको छ ।
००००
काठमाडौं उपत्यकाभित्र खसीबोकाको मूल्य बढेको छ। पछिल्लो एक महिनाभित्र खसीबोकाको मासुको मूल्य करिब दुई सयदेखि तीन सय रुपैयाँसम्म बढेको हो।
केही साताअघिसम्म प्रतिकिलोग्राम १२ सयदेखि १३ सय रुपैयाँ रहेको खसीको मासु अहिले १४५० देखि १६ सय रुपैयाँसम्म पुगेको छ।
००००
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।