२९ जेठ २०८३, शुक्रबार
सुन तस्करीको जालो

त्रिभुवन विमानस्थल सुन तस्करीको अखडा– कसरी बाहिरिन्छ सुन ?

मंसिर २४, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थल सुन तस्करीको अखडा– कसरी बाहिरिन्छ सुन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको अखडा बनेको छ । शनिवार राति भन्सार पास भएर आएको साढे ६ केजी सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । 

फ्लाई दुबईको विमानबाट आएका इजिप्सियन नागरिक मोहम्मद सलेह भन्सार पास भइसकेको अवस्थामा ६ केजी ५९० ग्राम सुनसहित पक्राउ परेका हुन् ।

धूलो बनाइएको सुन उनले ज्याकेटको खल्तीमा राखेर ल्याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार भन्सार पास भइसकेपछि उनलाई पक्राउ गरिएको थियो ।

‘उनी भन्सार पास भइसकेपछि विमानस्थलको टर्मिनल एरियाभित्र पक्राउ परेका हुन्,’ डीआईजी चन्दले लोकान्तरसँग भने । 

उनका अनुसार सलेहका अलावा अन्य २ जना विदेशी नागरिक पनि पक्राउ परेका छन् । यस प्रकरणमा उनीहरूको संलग्नताका विषयमा अनुसन्धान भइरहेको छ ।

बिहीवार मात्र ज्याकेटमै राखेर ल्याएको अवस्थामा १४ किलो सुनसहित गोरखाका ४५ वर्षीय चन्द्र घले पक्राउ परेका थिए । एक्सरेमा जाँच गरेर उनले कपडाभित्र लुकाएको सुन निकालिएको थियो । 

केही महिनाअघि ६०.७१६ केजी सुन भन्सार कार्यालयको सबै प्रक्रिया पूरा गरेर पास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । 

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मशिनलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर बाहिर निकाल्दै गरिएको ठूलो परिमाणको सुन बरामद भएको थियो ।

१९ दिनसम्म अनुसन्धान गरेर विभागले थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाएको थियो । 

यो घटनालगत्तै भदौ २५ गते भन्सार पास भइसकेपछि नै सिनामंगलबाट काठमाडौं प्रहरी परिसरले १ केजी सुनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

सोही दिन बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई काठमाडौं प्रहरीले विमानस्थलबाट १ किलो सुनसहित पक्राउ गरेको थियो । 

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पक्राउ गरिएको थियो । 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करिब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । 

अघिल्लो वर्ष २०७९ पुसमा २ वटा सुटकेसमा ७ सय ३० वटा भेपमा राखेर तस्करी भएको ९ केजी सुन पनि भन्सार पास भएर गोदाममा थन्किएको समयमा साटिएको थियो ।

त्यो प्रकरणमा भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, अमृत कार्की, निर्मलकुमार विक, दीपेश बस्नेतलगायतविरुद्ध गत असार २७ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

यो प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत नाम जोडिएको थियो । राहुल पक्राउ समेत परेका छन् ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी पटक–पटक सुन बरामद हुँदा भन्सारको कमजोरी पटक–पटक देखिँदै आएको छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पूण्यविक्रम खड्काले अहिले सुन तस्करीको छानबिनका लागि आयोग बनेकाले आफूहरूले यस बारेमा केही नबोल्ने बताए । 

‘सरकारले सुन कसरी आयो भन्ने अनुसन्धानका लागि समिति बनाएको छ, त्यसले के पत्ता लगाउँछ हेरौं,’ खड्काले लोकान्तरसँग भने ।

पछिल्लो प्रकरणमा भन्सार विभागको प्रत्यक्ष कमजोरी देखिँदा पनि आफूहरूको विषय नभएको जवाफ सूचना अधिकारी दाहालले दिए ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले पछिल्लो समय तस्करी बढेको बताए ।

‘पछिल्लो समय सुन तस्करी बढेको देखिन्छ । तस्करहरू बढी नै सक्रिय भएकाले बरामद हुने दर पनि बढेको हो,’ डीआईजी कडायतले लोकान्तरसँग भने ।

उनका अनुसार पछिल्लो ३ वर्ष अर्थात् आर्थिक वर्ष २०७७/०७८ देखि २०७९/०८० को असार मसान्तसम्ममा प्रहरीले मात्रै ६१ किलोभन्दा धेरै सुन बरामद गरेको छ । यसमा राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको तथ्यांक समावेश छैन ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्सारमा प्रहरीको पहुँच नहुने भएकाले बाहिर आएपछि सुन बरामद गर्ने गरेको बताए । ‘भन्सार हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, हामीले आफ्नो क्षेत्रमा आएपछि सूचनाका आधारमा काम गर्ने हो,’ प्रवक्ता भट्टराईले लोकान्तरसँग भने । 

सुरक्षा निकायबाट कमजोरी नभएको दाबी उनले गरे ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्सार कर्मचारीको असक्षमताका कारण यस्ता घटना दोहोरिएको बताउछन् । 

salt training

कमेन्ट गर्नुहोस्