
बैंक तथा वित्तीय संस्थामध्येबाट राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित ग्लोबल आईएमआई बैंक लिमिटेड मुलुककै अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको यस बैंकलाई राष्ट्रिय कर दिवस, २०८० को अवसरमा आन्तरिक राजस्व कार्यालयले सम्मान समेत गरेको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानसहित कदरपत्र प्रदान गरे ।
मुलुकलाई यति ठूलो योगदान गर्ने बैंकका रूपमा दरिनुका पछाडि ग्लोबल आईएमईको सफल 'मर्जर हिस्ट्री' जोडिएको छ ।
'बिग मर्जर' नेपालको वित्तीय क्षेत्रमा सबैभन्दा बढी सुनिने शब्दावली हो । तर, वास्तवमै 'बिग मर्जर'को कुरा गर्ने हो भने ग्लोबल आईएमई बैंकलाई त्यसको पर्याय मान्न सकिन्छ ।
सन् २०१२ मा ग्लोबल बैंक (क वर्ग), आईएमई फाइनान्सियल इन्स्टिच्युसन (ग वर्ग) र लर्डबुद्ध फाइनान्स (ग वर्ग) गाभिएर जन्मिएको ग्लोबल आईएमई बैंक त्यसपछिको झण्डै ११ वर्षमा मुलुककै अग्रणी वाणिज्य बैंकको रूपमा दरिएको छ ।
सन् २००७ सालमा ग्लोबल बैंक स्थापनाको समयलाई आधार मान्दा १६ वर्षे वित्तीय यात्रामा दर्जन बढी बैंक तथा वित्तीय संस्था गाभिइसकेका छन् ।
ग्लोबल आईएमई बैंक अस्तित्वमा आएको पछिल्लो वर्ष सन् २०१३ मै सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक यसमा गाभिए । सन् २०१४ मा कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभ्दा ग्लोबल आईमई अझै सशक्त बन्न पुग्यो ।
त्यसपछि प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, हाथवे फाइनान्सलगायत बैंक/वित्तीय संस्थालाई आफूमा समाहित गरेको ग्लोबल आईएमईले सन् २०१९ मा 'क वर्ग'को जनता बैंकलाई गाभ्न सफल भयो ।
राष्ट्र बैंकले बिग मर्जरलाई मौद्रिक नीतिमार्फत नै प्रोत्साहन गर्न थालेपछि यो सबैभन्दा पहिलो र ठूलो मर्जर थियो । पछिल्लो समय बैंक मर्जरको लहर चल्नुलाई पनि ग्लोबल आईएमईको सफलताको प्रेरणा मान्न सकिन्छ । गएको पुस (सन् २०२३ जनवरी ९) मा बैंक अफ काठमाडौं समेत गाभिएपछि ग्लोबल आईएमई बैंक निकै सशक्त ढंगले अगाडि बढेको छ ।

यस संस्थामा अहिलेसम्म झण्डै २ दर्जन बैंक तथा वित्तीय संस्था गाभिइसकेका छन् ।
बैंकर्स म्यागेजिन (फाइनान्सियल टाइम्स, युकेको प्रकाशन) द्वारा नेपालका लागि 'द बैंक अफ इयर अवार्ड- २०१४', इन्टरनेसनल फाइनान्स म्यागेजिन, लन्डनबाट 'बेस्ट इन्टरनेट बैंक २०१६- नेपाल' र 'बेस्ट इम्प्लोयर अवार्ड- २०१८' बाट सम्मानित यस बैंक सन् २०२२ मा युरोमनी म्यागेजिन (अवार्ड फर एक्सिलेन्स)द्वारा 'नेपालको सर्वश्रेष्ठ बैंक' का रूपमा सम्मानित भएको छ ।
वित्तीय समावेशीकरणको एक हिस्साका रूपमा ग्लोबल आइएमई बैंकले वित्तीय संस्थाको उपस्थिति न्यून रहेका वा नपुगेका दुर्गम स्थानमा शाखारहित बैंकिङ सेवा समेत सञ्चालन गर्दै आएको छ ।
बैंकले हालसम्म ६५,००० भन्दा बढी ग्राहकलाई आफ्नो दैनिक निक्षेप जम्मा तथा निकासीको सुविधा दिनेगरी २७४ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल नेपालभरमा ३ सय ५५ शाखा र ६५ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर पनि सेवा दिइरहेको छ । बैंकका सबै शाखा पूर्ण-सेवा आउटलेटको रूपमा स्थापित छन् जसले आफ्ना ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवा प्रदान गर्दछन् ।
बैंकले ग्राहकहरूको सुविधाका लागि ३७६ स्थानमा एटीएम मशिन समेत सञ्चालन गर्दै आएको छ । अधिकृत पुँजी ५७ अर्ब ०४ करोड रहेको यस बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ ।