
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दा उच्च अदालत पाटनमा तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।
कोइरालाको एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । उनको रायले खाण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।
यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो ।
पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।
उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।