
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर लगातार झरी परेको छ । अन्य क्षेत्रको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रेपलाञ्चोक, तनहुँ, सर्लाही र म्याग्दीलगायत जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कोशीका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी र बागमतीका केही स्थान तथा गण्डकीको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकीका तराईका थोरै स्थानमा मेघगर्जनसहितको मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मुसलधारे अर्थात् भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेस र कोशीको तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहितको मध्यम वर्षा हुन सक्नेछ।
रातिको समयमा विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलाहरूको जलस्तर बढेकोले बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित रहेको छ ।