
भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढेको छ । धाम निर्माण कार्यक्रमको शनिवार महागुरू श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामा, अमेरिकन दूतावासकी प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुनः शुरुवात गरे ।
लेखक तथा धर्मगुरू रिन्पोछेले थालेको विश्व शान्ति धाम निर्माण महत्वाकांक्षी परियोजना हो । धाम निर्माणमा झण्डै ३० मिलियन डलर लाग्ने अनुमान छ । जसलाई ‘क्राउड फन्डिङ’मार्फत उठाउने लक्ष्य लिइएको छ । शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य परियोजनाको रहेको बताइएको छ ।
विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एकसाथ आउन सक्ने र शान्तिको बिगुल फूकेर मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने कार्यक्रममा बताइयो । समारोहमा गुरू रिन्पोछेले कोभिड–१९ अघि निर्माण शुरू गरेर रोकिएको काम पुनः शुरूवात गरिएको बताए । नेपाल भौतिक रूपमा कमजोर भए पनि संसारको सबैभन्दा धनी हुने स्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने उनले धारणा राखे ।
करोडौं विदेशी भगवान् बुद्धले प्रतिपादन गरेको धर्मका लागि लालायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
यो आयोजना लुम्बिनीका लागि मात्र नभइ संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरूको सहयोगबाट यो निर्माण हुने बताए ।
नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरूलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझन सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।
कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरू रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल सङ्ग र जेम्स स्टरलिंक लगायतले विश्वशान्ति धाम निर्माणले बौद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।
तीन हजार ४०० वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्वशान्ति धाम तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यासपछि उपस्थित सबै पालैपालो श्रमदानमा सहभागी भएका थिए । विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र घट्दो मानसिक स्वस्थ्यलाई सम्बोधन गर्न नयाँ समाधान चाहिएको र त्यसको लागि विश्वका सारा मानव एकै परिवारको रुपमा सँगै काम गर्न सिकुन् भन्ने सन्देश प्रवाह गर्न खोजिएको कार्यक्रममा बताइयो ।