
नेकपा एमाले निकटको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ३८ खर्ब रुपैयाँको हिसाब देखाउन सरकारसँग माग गरेको छ ।
आइतवार मनमोहन मजदुर भवनमा आयोजित एक कार्यक्रममा जिफन्टका उपाध्यक्ष रमेश बडालले रेमिट्यान्सबापत नेपाल भित्रिनुपर्ने ५० खर्ब रुपैयाँमा १२ खर्ब मात्र आएको दाबीसहित बाँकी ३८ खर्ब रुपैयाँ हराएको बताए ।
‘वैदेशिक रोजगारबापत आउनुपर्ने ३८ खर्ब रुपैयाँ रेमिट्यान्स अहिले हराइरहेको छ । जम्मा हाम्रो देशले १२ खर्ब रुपैयाँमात्र रेमिट्यान्समार्फत प्राप्त गरेको छ’, बडालले दाबी गर्दै भने, ‘जबकि तथ्याङ्कले ५० खर्ब भित्रिनुपर्ने देखाउँछ, त्यो ३८ खर्ब कता हरायो ?’
उनले रेमिट्यान्स घट्नुमा नागरिकले पैसा नै नपठाएको, सुन तस्करीमा प्रयोग भएको र बिटक्वाइनजस्ता डिजिटल करेन्सीमा लगाएको हुन सक्ने टिप्पणी गरे ।
‘नागरिकले आफ्नो देशप्रति वितृष्णा जागेर पैसा पठाउनै पो छाडे कि ? अहिले जुन भइरहेको सुन तस्करीमा पो यो रकम दुरुपयोग भइरहेको छ कि वा बिटक्वाइनलगायत डिजिटल करेन्सीमा त्यो रकमको दुरुपयोग भइरहेको छ ? उनले सरकारप्रति प्रश्न गर्दै भने ।
२०७७/७८ सालको तथ्याङ्कमा १ लाख ६६ हजार ६ सय ९८ जना वैदेशिक रोजगारीमा गएको जिफन्टको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा त्यस बखत वैदेशिक रोजगारीमा जानेको संख्या ५४ प्रतिशतले घटेको तर रेमिट्यान्स भने ९.८ प्रतिशतले बढेको उक्त तथ्याङ्कले देखाएको बडालले बताए ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारको अर्थ नीतिले गर्दा रेमिट्यान्स बढेको देखिछ, तर त्यो बेला अर्थमन्त्रीलाई हामीले धेरै गाली गर्यौं’, उनले भने, ‘त्यो बेलाको अर्थ नीतिले गर्दा नै रेमिट्यान्स बढेको देखाउँछ ।’
त्यस्तै ०७८/७९ सालमा बनेको गठबन्धनको सरकारमा फेरि वैदेशिक रोजगारीमा जानेको संख्या २७७ प्रतिशतले वृद्धि भएको तर रेमिट्यान्स भने जम्मा ४ प्रतिशतले मात्र बढेको बडालले दाबी गरे ।
त्यसपछिका वर्षमा पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढेको उनले बताए ।
त्यस्तै पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको पनि उनले बताए ।
आर्थिक वर्ष ०७५/७६ मा जम्मा ९ हजार १ सयले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिकरोजगारीमा गएको जिफन्टले जनाएको छ ।
२०७६/७७ मा २६ हजार र पछिल्लो आर्थिक वर्षमा ६९ हजारले व्यक्तिगत श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा गएकाे तथ्य उनले प्रस्तुत गरे ।

२ वर्ष अगाडिभन्दा अहिले दक्ष श्रमिकको संख्या डेढीले वृद्धिले भएको उनले बताए ।
त्यस्तै पछिल्लो समय नेपालमा ७७ मुलुकका २० हजार विदेशी श्रमिक कार्यरत रहेको तथ्याङ्कले देखाएको उनले बताए । ‘यसले के पनि देखाउँछ भने नेपाली युवा श्रमिक बाहिरिँदा उनीहरूको स्थान विदेशी श्रमिकले ओगट्ने त होइन भन्ने प्रश्न गर्ने ठाउँ पनि देखिन्छ’ उनले भने ।
यो तथ्याङ्क वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालयले पछिल्लो आर्थिक वर्षमा निकालेको लेबर माइग्रेसन रिपोर्टलाई मुख्य आधार बनाएर तयार पारिएको बडालले बताए ।
त्यस्तै रेमिट्यान्सको तथ्याङ्क नेपाल राष्ट्र बैंकबाट भेरिफाइ गरेर मात्र तयार पारिएको उनको दाबी छ ।
त्यस्तै अर्को प्रसंगमा बडालले सरकारले भरोसा दिलाउन नसक्दा वैदेशिक रोजगारमा जानेको संख्या बढेको बताए ।
‘जुन साल सरकारप्रतिको आशा जनतामा बढेको देखिन्छ, त्यो समयमा वैदेशिक रोजगारमा जाने ट्रेन्ड घटेको देखिन्छ’, उनले भने, ‘तर जुन सालमा सरकारप्रतिको आशा घटेको देखिन्छ, त्यो समयमा वैदेशिक रोजगारीमा जाने ट्रेन्ड बढेको देखिन्छ ।’
दोश्रो संविधानसभाको निर्वाचन पछाडि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको उनको भनाइ छ ।
‘२०७० सालको दोश्रो संविधानसभा निर्वाचन पछाडिको २ वर्षसम्म वैदेशिक रोजगारीमा जानेको संख्यामा ओरालो लागेको थियो । त्यसपश्चात् फेरि उकालो लागेको देखिन्छ’, उनले भने, ‘फेरि २०७४ सालको उत्तरार्द्धमा केपी ओली नेतृत्वको सरकार बनेपछि घटेको देखिन्छ । कोभिडको समयमा त स्वतः घट्नै भयो ।’