३० जेठ २०८३, शनिबार
गीत-संगीत

कतिमा बन्छन् म्युजिक भिडियो ?

पुस ७, २०८०
काठमाडौं
कतिमा बन्छन् म्युजिक भिडियो ?

गीत सुन्नेमात्र होइन हेर्न पनि थालिएको धेरै वर्ष भइसक्यो । अहिले अधिकांश गीतका म्युजिक भिडियो बन्छन् । भिडियो अनिवार्यजस्तै भएसँगै गीत निर्माण पनि महँगो बन्दै गएको छ । अझ, पछिल्लो समय मोडलहरूको पारिश्रमिककै कारण भिडियो निर्माण अझ महँगो बनेको निर्देशकहरू बताउँछन् । 

विशेषगरी फिल्ममा पनि सक्रिय रहेका कलाकारहरूलाई लिएर भिडियो बनाउँदा उनीहरूको पारिश्रमिकमै धेरै खर्च हुने गरेको छ । म्युजिक भिडियोमा महँगो पारिश्रमिक लिनेमा पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, केकी अधिकारी, आँचल शर्मा, वर्षा राउत, मलिका महत आदि पर्छन् । 

उनीहरूमध्ये केहीको पारिश्रमिक १ लाख हाराहारी र केहीले डेढ लाख रुपैयाँभन्दा बढी पनि लिने गरेको निर्देशकहरू बताउँछन् । 

फिल्मी कलाकारलाई लिएर सामान्य खालको भिडियो बनाउँदा पनि ५–६ लाख रुपैयाँ खर्च हुने गरेको कोरियोग्राफर एवं निर्देशक रामजी लामिछाने बताउँछन् । कलाकार, लोकेशन, कोरस इत्यादीका आधारमा भिडियोको लगानी अझ बढ्ने गरेको समेत उनले बताए । 

कलाकारहरूको पारिश्रमिक धेरै हुँदा अन्य कुरामा भने खुम्चिएर काम गर्नुपर्ने अवस्था छ । लामिछाने भन्छन् ‘अहिले भिडियोमा संगीतकार, गायकहरू आफैं खेलिरहनुभएको देखिन्छ । किनकी उहाँहरूले आफैं खेलेर खर्च बचाउन खोज्नुभएको हो । त्यस्तै न्यू कमर पनि उत्तिकै हाबी भइरहेका छन् ।’ 

चलेका मोडलहरूलाई लगानी गर्न नसक्दा गीतकार, संगीतकार वा गायकले गीत बनिसकेपछि भिडियोका लागि पैसा लगानी गर्ने पुरुष वा महिला (न्यू कमर) खोज्ने गरेका छन् । न्यू कमरले चलेका मोडलसँग देखिने चाहनामा भिडियोमा लगानी गर्ने गरेका छन् । 

null

यसरी भिडियो निर्माण गरिँदा मेकिङ र क्यालिटी भने खस्किरहेको लामिछाने बताउँछन् । यसरी क्वालिटी खस्किनु पछाडिको कारण भने मोडलहरूले लिने महँगो पारिश्रमिकसँग पनि जोडिने उनको तर्क छ । 

अर्का कोरियोग्राफर एवं निर्देशक काजिश श्रेष्ठ पछिल्लो समय आफूले काम गरिरहेका धेरै म्युजिक भिडियोको लगानी ३ लाख रुपैयाँ हाराहारी हुने गरेको बताउँछन् । कतिपय भिडियो त्यो भन्दा कममा पनि बन्ने गरेका छन् । 

चलेका कलाकार, धेरै कोरस राखेर बनाएका भिडियोहरूको लगानी भने ५ लाख रुपैयाँभन्दा माथि पनि पुग्ने गरेको श्रेष्ठले बताए । उनका अनुसार फिल्ममा काम नगरेका म्युजिक भिडियोमा चलेका मोडललाई २५ देखि ४० हजार रुपैयाँ हाराहारी पारिश्रमिक छुट्याउँदा हुन्छ । अञ्जली अधिकारी, गीता ढुंगाना, लोमश शर्मा, विना राउत, सरोज प्रजालगायतका मोडलहरू यसभित्र पर्छन् । 

उनीहरूलाई लिएर भिडियो बनाउँदा ३ लाख रुपैयाँ हाराहारीमा तयार हुने गरेको श्रेष्ठले जानकारी दिए । यसमा भिडियो सम्पादनसम्मको खर्च जोडिने गर्छ । 

उसो त कतिपय म्युजिक भिडियो १० लाख रुपैयाँभन्दा बढी लगानीमा समेत निर्माण भएका छन् । यद्यपि, त्यस्ता भिडियो एकाध मात्र छन् । अहिले बजारमा धेरै म्युजिक भिडियो ३ देखि ५ लाख हाराहारीमा बनिरहेको निर्देशकहरूको भनाइ छ । 

पछिल्लो केही समययता म्युजिक भिडियो निर्माण भने ह्वात्तै घटेको छ । कमाउन सकिने डिजिटल प्लेटफर्म धेरै भए पनि नेपालमा म्युजिक भिडियोको आम्दानीको मुख्य स्रोत युट्युबबाट आउने ‘रेभिन्यू’ हो । यद्यपि, युट्युबबाट लगानी उठाउने म्युजिक भिडियो १० प्रतिशत पनि नहुने संगीतकर्मीहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्