ललितपुरको सातदोबाटोबाट खुमलटारतर्फ जाँदा बाटोको बायाँतिर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को कार्यालय छ ।
विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने सरकारी निकाय नास्टको प्रांगणमा छिर्दा ६० वर्ष पार गरेका एक व्यक्ति आधुनिक मशिनले घाँस काटिरहेको भेटिन्छन् ।
नाम: भीमप्रसाद घिमिरे ।
उमेर: ६० वर्ष पूरा ।
स्थायी ठेगाना: कोञ्ज्योसोम गाउँपालिका, २ ललितपुर ।
हालको बसाइ: ललितपुरकै खुमलटार ।
बुधवार दिउँसो २ बजेतिर नास्टमा पुग्दा भीमबहादुर मशिनले घाँस काटिरहेका थिए । नजिक पुगेर उनको कामबारे जिज्ञासा राख्दा भीमबहादुरले प्रविधिका कारण निकै सजिलो भएको बताए ।
'प्रविधि हजुर, प्रविधि; पहिला दिनभरी लगाएर एक भारी काट्न मुस्किल हुन्थ्यो, अहिले यो मशिनले एकैछिनमा एक ट्रक घाँस काट्छ,' शुरूमै उत्साहित हुँदै उनले सुनाए ।

दुग्ध उत्पादनलाई पेसा बनाएका उनले ५ वटा भैँसी र ३ वटा गाई पालेका रहेछन् । तिनै गाईभैँसीलाई खुवाउन उनले नास्ट प्रांगणमा 'ग्रास कटर' मशिनको सहायताले घाँस काट्ने गरेका रहेछन् ।
घाँस काट्नका लागि वर्षको २५ हजार रुपैयाँमा टेन्डर पारेको उनको भनाइ छ । मशिन खरिदमा भने १६ हजार रुपैयाँ खर्चिएको भीमबहादुरले सुनाए । मशिनका कारण निकै सहज भएको सुनाउँदै उनले थपे, 'मैले एक्लै घाँस काट्छु । कहिलेकाहीँ नाति केटाले पनि सघाउने गरेको छ ।'

दैनिक ६० लिटर दूध बेच्ने गरेको भन्दै उनले महिनाको एक लाख रुपैयाँ बचाउँदै आएको बताए ।
'महिनामा २ लाखको दूध बेच्ने गरेको छु । सबै खर्च कटाएर एक लाख रूपैयाँचाहिँ चोखो बचाउँछु,' भीमबहादुरले भने, 'पानी नमिसाइ बेच्ने गरेकाले एकै घरमा ४ लिटरसम्म लिनुहुन्छ ।'

गाउँमा दु:ख भयो भनेर झरेका थिए बेसी
कोञ्ज्योसोम ललितपुरकै विकट क्षेत्रमा पर्छ । भीमबहादुर पनि गाउँमा दु:ख भयो भनेर २० वर्षअघि शहर झरेका रहेछन् ।

'छोराहरू गाउँमै जन्मिएका थिए । यहाँ आएर दुईवटा नाति हुर्कायौं । यही कमाइले राम्रो स्कूलमा पढायौं । अहिले ब्याच्लर सकेर जापान जाने तरखरमा छन्,' भीमबहादुरले खुशी साटे ।
दूध बेचेरै ४ आना घडेरी समेत जोडेको उनले बताए । अब एउटै धोको छ- सय वर्ष टेक्न लागेका बुवा छँदै घर बनाउने । '९६ वर्षका बुवा जीवित छँदै घर बनाउन पाए मलाई आनन्द हुन्थ्यो,' उनले भने ।

नातिनातिनाले अब यो पेसा सम्हाल्छन् भन्ने विश्वास उनलाई छैन ।
'मेरो पुस्ताले मात्रै होला यसरी घाँस काट्दै गाईवस्तु पाल्ने,' भीमबहादुरले भने ।
हेर्नुहोस्, भिडियो :