२९ जेठ २०८३, शुक्रबार
सन्दर्भ : जनप्रतिनिधिले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको घटना

२६ वर्षअघि कार्यकक्षबाट राजाको फोटो फ्याँक्ने तत्कालीन जिविस सभापतिको बकपत्र

पुस १९, २०८०
काठमाडौं
२६ वर्षअघि कार्यकक्षबाट राजाको फोटो फ्याँक्ने तत्कालीन जिविस सभापतिको बकपत्र

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले ।

जिल्ला विकास समिति बागलुङको सभापति निर्वाचित भई शपथ लिएपछि उनले सभापतिको कार्यकक्षबाट तत्कालीन राजा वीरेन्द्र शाहको फोटो हटाए । फोटो हटाउनुपर्ने परिस्थितिमा उनी किन पुगे ? थापा मगर भन्छन्, ‘राजनीतिक दृष्टिकोणको बुझाइ र निरन्तर वर्ग संघर्षको एउटा परिघटना हो त्यो ।’

थापा त्यो बेला नेपाल कम्युनिस्ट पार्टी (मसाल)को वैधानिक मोर्चा अखिल नेपाल राष्ट्रिय जनमोर्चाबाट सभापति चुनिएका थिए । थापाको राजनीतिक गतिविधि, पृष्ठभूमि र राजाको फोटो फ्याँक्नेसम्मको कथा निकै लामो छ । 

भर्खर २९ वर्ष लाग्दै गर्दा २०५४ मा बाग्लुङको दक्षिणी भेगमा पर्ने हुग्दिसिर गाउँ विकास समिति वडा नम्बर ८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए, थापा मगर । राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तालमेलबाट उनी सभापति निर्वाचित भएका थिए ।

मुद्दै–मुद्दाबाट मुक्तिपछि सभापति 

लीला जिल्ला विकास समिति सभापति बन्नुसँग उनको लामो राजनीतिक यात्राको सम्बन्ध छ । उनी गाउँबाट २०४० सालमा मजदूरीका लागि भारत पुगे । चौकीदारीका लागि भनेर मद्रास पुगेका थिए ।

बागलुङ जिल्लामा नेकपा (मसाल)को बलियो पकड थियो । त्यसको प्रभाव उनीमा नहुने कुरै भएन । दिउँसो पार्टीको काम, साँझ चौकीदारी गर्थे । त्यससँगै सितिरियो कराँते खेल्न शुरू गरे । मसालको प्रवासी संगठन अखिल भारत नेपाली एकता समाजमा उनी आबद्ध थिए । त्यहीबेला उनी एकता समाजको भगिनी संगठन वामपन्थी युवक मोर्चाको सदस्य बने ।
 
२०४५ सालको अन्त्यतिर पूर्णकालीन कार्यकर्ता बनेर नेपाल पाठाइनेमध्ये थापा मगर पहिलो टोलीमा परे । गाउँमा आउँदा उनको परिचय लडाकूको रूपमा बनेको थियो । कारण हो, कराँते । उनी खाइलाग्दा, औसत युवाभन्दा हृष्ट–पुष्ट र अग्ला थिए । थापा बरेङ आइपुग्दा आफ्ना नेता तथा कार्यकर्तालाई बरेङ प्रहरी चौकीले ज्यादती गरिरहेको थाहा पाए । जनआन्दोलन नजिकिँदै जाँदा थापा मगरकै नेतृत्वमा २०४६ फागुन २२ गते बरेङ प्रहरी चौकीलाई घेराबन्दीमा पारियो ।

घेरामा परेका प्रहरीले आत्मसमर्पण त गरे, तर थापा मगरकै नेतृत्वमा उक्त घटना भएकाले उनलाई सर्वस्वहरणसहित राज्यद्रोहको मुद्दा लगाइयो । तर त्यसको एक महिनापछि प्रजातन्त्र आएकाले उक्त सजाय मिनाहा भयो । ‘सशस्त्र संघर्ष’ गर्ने पार्टीको नीतिमा मुख्य हतियार अखिल नेपाल युवक संघ थियो । 

‘अहिले जनताका छोरा–छोरी राष्ट्र प्रमुख बनेको अवस्था छ । कि यो व्यवस्थाको नयाँ विकल्प दिन सक्नुपर्‍यो, हैन भने स्वतन्त्रताका नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फ्याँक्नु अराजकता हो । यो कार्यले पश्चगामी शक्तिलाई मलजल पुगेको महसुस गरेको छु,’ उनले भने ।

२०४७ मा राज्य र जो कोहीको पहुँच नपुग्ने स्थानमा मसालले राजनीतिक, सांगठनिक र शारीरिक प्रशिक्षण शुरू गर्‍यो । बागलुङ र प्यूठान गरी झण्डै एक सय ठाउँमा प्रशिक्षण चलायो । बन्द शिविर र प्रशिक्षणबाट पूर्णकालीन जनमिलिसिया हुँदै पछि सशस्त्र संघर्षका लागि ‘सेना’ निर्माण गर्ने भनी शिविर सञ्चालन गरिएको थियो । २०४८ को आमचुनाव नेकपा (मसाल)ले बहिष्कार गर्‍यो, जसका कारण मसालले ‘सशस्त्र संघर्ष’ शुरू गर्छ भन्ने भाष्य निर्माण भयो । 

राजनीतिक सक्रियतासँगै थापा २०४८ मा धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा भर्ना भए । खुला राजनीतिमा भर्खर प्रवेश गर्दा २०४८ माघ १ गते ठूलो घट्ना भयो । त्यसपछि थापाको भूमिगत राजनीतिक यात्रा फेरि शुरू भयो । कालिगण्डकीको किनार स्थानीय भाषामा जिमिरीघाट (पछि जैमुनीघाट)मा माघे संक्रान्तिमा ठूलो मेला लाग्छ । त्यही मेलामा शारीरिक रूपमा प्रशिक्षित सयौं युवालाई ड्रेससहित मार्चपास गराइयो । मार्चपाससँगै आमसभा पनि गरियो ।

राजतन्त्र र त्यतिबेलाको कांग्रेस सरकारविरुद्ध थापाले चर्को भाषण गरे । प्रहरी निरीक्षक ज्ञानेश्वर वैद्यको नेतृत्वमा जिल्लाबाट ५० जना प्रहरी टोलीले सभास्थल घेरा हाल्यो । जिल्लाबाट आएको प्रहरी टोलीले बाटोमाथि रहेको ठाँटीमा अस्थायी शिविर खडा गरेको थियो । साँझ सभा समापनपछि त्यसको वरपर युवाको विभिन्न समूहबीच झडप भयो । त्यही झडप नियन्त्रण गर्न जाँदा प्रहरी टोलीको नेतृत्व गरेका निरीक्षक वैद्यको मृत्यु भयो ।

त्यतिखेर सूचना र सञ्चारका माध्यम अहिलेजस्तो थिएनन् । बिहान मिर्मिरे नहुँदै मेलास्थल र वरपरका बस्ती तथा जिल्लाबाट आएका प्रहरी र सेनाको झण्डै ५ सय जनाको टोलीले घेरा हाल्यो ।

सुरक्षा निकायको अपरेसनका क्रममा कुटपिट हुने र पक्राउ पर्नेमा प्रायः मसाल समर्थक र केही एमालेका कार्यकर्ता परे । दोस्रो दिन थापाको नाममा वारेन्ट जारी भयो । मार्चपासको नेतृत्व र भाषण गरेको भनी थापालाई मुख्य योजनाकारका रूपमा दोषी करार गरिएको थियो ।

‘सुरक्षा निकायले अपरेसन चलाउँदै गयो । मलाई जनताले बचाए र त्यहाँबाट बाहिर निस्कन सफल भएँ । अनाहकमा दलबहादुर विक, राम पौडेल, प्रेम राना, भीमबहादुर थापा, कोपिल मल्ल, राजु थापा, जीतबहादुर रानालगायत पक्राउ परे । उनीहरूलाई यति यातना दिइयो कि जिउँदै खुट्टा जलाइयो’, चर्चित जैमुनी घटना सम्झँदै थापा भन्छन् ।

२०४८ पछि फेरि मुद्दा लाग्दा उनी पार्टीको आन्तरिक काममा भूमिगत रूपमा सक्रिय भए । २०५१ मा बागलुङमा जनमोर्चाले एमालेसँग तालमेल गर्‍यो । तालमेलसँगै क्षेत्र नम्बर १ मा गोविन्द अधिकारी र ३ मा परि थापाले चुनाव जिते । चुनावपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । 

निर्दोषलाई मुद्दा लगाइएको भनी धौलागिरीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले मन्त्रिपरिषद् समक्ष निवेदन दिए । सोही निवेदनका आधारमा मुद्दा खारेज भयो । थापा पनि खुला राजनीतिमा आए ।

मसाल पटक-पटक चिरा पर्‍यो । त्यसैको एउटा चिरा माओवादीले १० वर्ष ‘सशस्त्र संघर्ष’ चलायो । मसालबाट राजनीतिक यात्रा शुरू गरेका थापा यतिखेर गण्डकी प्रदेश सभाको सदस्य छन् । 

तात्कालीन नेकपा विभाजन हुँदा एमाले रोजेका थापा अहिले पार्टीको पोलिटब्यूरो सदस्य छन् । आफूसहितको मुद्दा फिर्ता गराउन २०५१ मा गृहमन्त्री रहेका केपी ओलीलाई भेट्दाको स्मरणमा थापा मगरले भने, ‘भूमिगत शैलीमा गाउँबाट आएर गृह मन्त्रालय गइयो । १५/२० मिनेट प्रतिक्षा गरेपछि उहाँ (ओली) आउनुभयो । शरीर चटक्क परेको थियो, अहिलेजस्तो थिएन । हात मिलाइयो । उहाँले हैन चिनेजस्तो लाग्यो नि ? भन्नुभयो । अनि मैले कमरेड व्यवस्था परिवर्तनका लागि लडेको योद्धा हुँ । संघर्षमा होमिएको छु भनें ।’ 

सभापति भएपछि जिल्लाका सबै प्रमुखलाई परिचालन गर्ने पदमा पुगे थापा मगर । ‘सभापतिको शपथ लिएँ । अहिलेजस्तो फ्लेक्स र फोटोको चलन थिएन । आर्टिसलाई माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो पेन्टिङ गर्न लगाएको थिएँ । वर्ग संघर्ष, विश्व दर्शन, क्रान्तिको हेतुले राजाको फोटो हटाएर माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो राख्न लगाएँ । सामान्तवादको नाइके राजसंस्था भएको मेरो चेतमा थियो । त्यसकारण राजाको फोटो हटाएको हुँ, त्यतिबेला’, थापा मगरले राजाको फोटो हटाउनुको कारण खुलाउँदै भने । 

पुरानो संरचनामा रहेका यन्त्रहरूलाई उनले गरेको यो कार्यप्रति चित्त बुझेन । त्यसबेला पार्टीको नीति ‘पुरानो व्यवस्थाविरुद्ध संघर्ष’का निम्ति जनप्रतिनिधि बन्ने भन्ने थियो ।

पुराना राजनीतिक गतिविधि, उनको पृष्ठभूमिसँगै ‘राजतन्त्र नमान्ने सभापति’ भनेर कर्मचारीहरूसँग ‘लडाइँ’ शुरू भयो । कतिपय समय थापा मगरले कार्यालयका अधिकारीहरूमाथि जाइ लागे । 

जिल्लाभरिको विकास निर्माण, खानेपानी, कृषि, विद्युतलगायत समस्या समाधानमा ३४/३५ वटा समितिको नेतृत्व जिविस सभापतिले गर्ने व्यवस्था थियो । त्यसकारण उनले कसैसँग सम्झौता नगरी राजाको फोटो फ्याँकेर आफ्नो कार्यकाल सके ।

‘सशस्त्र संघर्ष हुन्छ, राजसंस्था जान्छ, जनवादी क्रान्ति हुन्छ भन्ने विश्वासमा त्यो काम गरियो । त्यही कारण प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लगायतलाई घेराबन्दीमा पारें’, उनले भने, ‘त्यो विद्रोह सामन्तवादको नाइके राजसंस्थाविरुद्ध थियो । जानीबुझी गरेको थिएँ ।’

अहिले हर्क साम्पाङसहित केही स्वतन्त्र जनप्रतिनिधि र राजावादीले फोटो फेरेको सन्दर्भ र त्यो बेलाको परिघटना बिल्कुल फरक भएको थापा मगर बताउँछन् ।

‘अहिले जनताका छोरा–छोरी राष्ट्र प्रमुख बनेको अवस्था छ । कि यो व्यवस्थाको नयाँ विकल्प दिन सक्नुपर्‍यो, हैन भने स्वतन्त्रताका नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फ्याँक्नु अराजकता हो । यो कार्यले पश्चगामी शक्तिलाई मलजल पुगेको महसुस गरेको छु,’ उनले भने ।

फेरि राजतन्त्र र सामान्तवादको कुरा गर्नु पश्चगामी हुने उनले बताए ।

‘अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद भएर जनताका समस्या ठीक–ठीक ढंगले समाधान गर्न नसकेको साँचो हो । वितृष्ण भएकै हो । तर, त्यसको विकल्प फेरि पनि राजतन्त्र, राणातन्त्र र सामान्तवाद हो भन्नु गलत हुन जान्छ । फोटो फेरेर मात्र छुट्टै चिनारी दिन खोज्नु पश्चगमनलाई टेवा दिनु हो ।’

कमेन्ट गर्नुहोस्