२६ जेठ २०८३, मंगलबार
बलात्कार मुद्दा

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपको सजाय तोक्न आज पेसी

७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने
पुस २५, २०८०
काठमाडौं
बलात्कार मुद्दामा दोषी ठहर सन्दीपको सजाय तोक्न आज पेसी

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो ।

लामिछानेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने काठमाडौं जिल्ला अदालतले जनाएको छ । १८ वर्ष पुगेकी वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको अदालतले जनाएको छ ।

‘निजलाई  मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३(ङ) बमोजिमको कसुरमा ७ देखि १० वर्षसम्मको सजाय गर्न सक्ने अर्थात १८ वर्ष पुगेको वा सोभन्दा बढी उमेरकी महिलाको हकमा यो सजाय हुने कानूनी व्यवस्था रहेको छ,’ सजायमा भनिएको छ ।

सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।

उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेशसमेत जान सक्ने आदेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्