३२ असार २०८३, बिहीबार
रास्वपामाथि एकपछि अर्को चुनौती

मिसन- ०८४ अघि नै संकट र विवादको भुमरीमा रवि !

पुस २९, २०८०
काठमाडौं
मिसन- ०८४ अघि नै संकट र विवादको भुमरीमा रवि !

टेलिभिजन पत्रकारिता छाडेर राजनीतिमा हामफालेलगत्तै शुरूआती सफलताले हौसिएर मिसन– २०८४ अभियान थालेका रास्वपा सभापति रवि लामिछाने चौतर्फी घेराबन्दी र एकपछि अर्को चुनौतीमा फसेका छन् ।

परम्परागत दलको बेथितिविरुद्ध शहरी मतदातालाई प्रभावित गर्दै २० सीट (उपनिर्वाचनबाट थप एकसहित २१) जितेर रविले छोटो समयमा सनसनी नै मच्चाए । एकैपटक चौथो दल बन्दा पुलकित पनि भए । त्यसैले २०८४ को आमनिर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने सार्वजनिक उद्घोष रविको छ । 

तर, आफ्नै कतिपय व्यक्तिगत कमजोरी र सन्तुलन मिलाउन नसक्दा उनी अवसरभन्दा चुनौतीले घेरिएका छन् । व्यवहार र बोलीमा सन्तुलन मिलाउन नसक्दा आन्तरिक र बाह्य चुनौती एकैपटक आइलागेका हुन् ।

आफ्नै कमजोरीले गुमाएको सांसद पद पुनः प्राप्त गरे पनि उनको संकट कम भएको छैन । व्यक्तिगत कमजोरी र कच्चा व्यवहारले अप्ठ्यारो स्थिति सिर्जना गरिरहेको छ । नागरिकता प्रकरणदेखि सहकारी ठगीमा नाम जोडिएको विषयसम्म आइपुग्दा रविमाथिको चुनौती कम हुनुको साटो बढिरहेको छ । आफैैंमाथि उठेका प्रश्नको उचित जवाफ दिन नसकेका रवि कच्चा आवेगी व्यवहार, सांगठनिक एवं वैचारिक अस्पष्टता र पार्टीमा एकलौटी निर्णय लाद्ने कार्यशैलीका कारण पनि थप चुनौतीको घेरामा उभिएको देखिन्छ ।

चुनौती १: आफैंमाथि प्रश्न र कमजोरीको चाङ

पुराना दलको बेथिति र अराजकताविरुद्ध आगो ओकल्दै पार्टी खोलेका रविले सत्ताको फोहोरी एवं स्वार्थी राजनीतिलाई नपछ्याउने सार्वजनिक उद्घोष गरेका थिए । तर, मंसिर ४ (२०७९)को निर्वाचनमा २० सीट जितेपछि हतारिँदै सरकारमा सहभागी बने । सत्ताप्रति अति आशक्ति देखाएर पुस ११ मा उपप्रधान तथा गृहमन्त्री बनेका रवि माघ १३ गते सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भए । सांसद पदमा उम्मेदवारी दिने क्रममा प्रयोग गरिएको नागरिकता अवैध ठहर भएपछि रविको सांसद र मन्त्री पद एकैपटक गएको थियो ।

आफूमाथि नागरिकताको सम्भावित मुद्दालाई टार्नैका लागि प्रभावशाली मन्त्रालयमा आशक्ति देखाएको आरोप उनीमाथि लाग्यो । लगत्तै १५ माघमा गते उनले नेपाली नागरिकता पुनः प्राप्ति गरे । नागरिकता प्राप्त गरेलगत्तै रविले विवादास्पद राहदानी राहदानी विभागलाई बुझाएका थिए । अर्थात् नागरिकतामात्रै होइन, राहदानीमाथि समेत प्रश्न थियो । तर, फेरि पनि गृहमन्त्री बन्नैका लागि प्रधानमन्त्रीमाथि दबाब बढाए । जबकि त्यतिखेरसम्म रविका सम्बन्धमा सर्वोच्चको आदेशको पूर्णपाठ पनि आइसकेको थिएन । अर्कातिर उनको पासपोर्टमा पनि प्रश्न उठेको थियो । 

उनले आफूलाई गृहमन्त्री नबनाइएपछि सामाजिक सञ्जालबाटै दबाब सिर्जना गर्न खोजेका थिए ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला, मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन,’ रविले लेखेका थिए । 

गृहमन्त्रालय नपाएपछि रविले २२ माघमा आफ्नो पार्टीबाट सहभागी भएका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाए । वैशाखमा आएर सरकारमाथिको समर्थन पनि फिर्ता लिए ।

रास्वपाका सांसदहरू

त्यसयताको अवधिमा पनि रवि उतारचढावरहित छैनन् । उपनिर्वाचनका क्रममा चितवनमा रविका ड्राइभरको उनी बसेकै घरको छतबाट खसेर निधन भयो । मध्यरातमा ड्राइभर छतबाट खसेको विषय अझै रहस्यको घेरामा छ ।

समानुपातिकबाट सांसद बनाएका ढाकाकुमार श्रेष्ठ विवादमा फस्दासमेत रविमाथि प्रश्न उठ्यो । पोखरामा श्रेष्ठले किसान कृषि सहकारी चलाएका थिए । उनी सो सहकारीको अध्यक्ष थिए । सहकारीको रकम फिर्ता नगरेको आरोप समेत लागेका श्रेष्ठको मन्त्री बन्न २ करोड मागेको अडियो समेत सार्वजनिक भयो ।

स्वास्थ्यमन्त्री बन्न पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको थियो । अडियोमा पार्टीको कोर टीमलाई पैसा बुझाउनुपर्ने भनिएको थियो ।

यस विषयमा ढाकालाई कारबाही गरेर रास्वपाले आन्तरिक अनुसन्धान समेत गरेको भनियो । तर, कोर टीमको संलग्नताको विषयमा के कस्तो छानबिन भयो, अहिलेसम्म केही खुलेको छैन ।

बजेटमाथिको छलफलका क्रममा मुर्रा राँगा र भैंसीको विषयमा एमालेले उठाएको विषयमा मजाक गर्दै साथ दिएको विषयमासमेत रास्वपा अध्यक्षले माफी माग्नुपरेको थियो । 

पछिल्लो समय चितवन, बुटवल, पोखरासहितका क्षेत्रबाट सहकारीको पैसा ल्याएर ग्यालेक्सी टीभीमा लगानी गरेको विषयमा पनि रविमाथि प्रश्न उठिरहेको छ । सहकारीको साधारण सेयर नभएको व्यक्तिले सो संस्थाबाट ऋण लिन पाउँदैन, तर कुनै धितोसमेत नराखी वचतकर्ताको रकम दुरुपयोग गरेको भनी लागेको आरोपमा रविले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

सहकारीमा नाम मुछिएपछि रवि ठूलो तनाव र चिन्तामा रहेको रास्वपाकै एक नेता बताउँछन् ।

पछिल्लो समय चितवन, बुटवल, पोखरासहितका क्षेत्रबाट सहकारीको पैसा ल्याएर ग्यालेक्सी टीभीमा लगानी गरेको विषयमा पनि रविमाथि प्रश्न उठिरहेको छ । सहकारीको साधारण सेयर नभएको व्यक्तिले सो संस्थाबाट ऋण लिन पाउँदैन, तर कुनै धितोसमेत नराखी वचतकर्ताको रकम दुरुपयोग गरेको भनी लागेको आरोपमा रविले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

 

‘सहकारीमा भएको ठगीको विषयलाई कसरी समाधान गर्न सकिन्छ भनेर हाम्रो सभापति चिन्तित हुनुहुन्छ । सकारात्मक ढंगले व्यवस्थापन गर्ने र सहकारीमा डुबेको जनताको पैसा कसरी फिर्ता गर्ने भनेर लाग्नुभएको छ,’ ती नेताले भने, ‘कानूनी दायित्वसहितका विषयलाई टुंग्याउन अर्थतन्त्र बुझ्नुभएका स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल नै बनाइएको छ ।’

रास्वपा नेता एवं सांसद सोविता गौतम नयाँ पार्टीका रूपमा संक्रमणकालमा अगाडि बढ्दा केही कमजोरीजस्तो देखिए पनि नियत सफा रहेको बताउँछिन् । ‘हामी पार्टीका रूपमा नयाँ छौं । महाधिवेशन नहुँदासम्म संक्रमणकालमा रहने नै भयौं । त्यसैले कतिपय संगठनात्मक र वैचारिक विषयमा एक खालको अस्पष्टताजस्तो देखिएको हो, तर महाधिवेशनपछि सबै कुरा सहज भएर जान्छ,’ गौतमले लोकान्तरसँग भनिन्, ‘यसैले एउटा अवस्थामा हामी सबै सभापतिले यसरी जाऊँ भनेपछि उहाँको प्रस्तावलाई स्वीकारेर अगाडि बढेका छौं । तर, अभ्यासमा हाम्रो लोकतान्त्रिक प्रणाली नै छ । सबैथोक स्वस्थ हिसाबले अगाडि बढेकाले समस्या छैन ।’

नियत सफा रहेकाले आलोचनाबाट नआत्तिने उनको भनाइ छ ।

‘रास्वपा रवि लामिछानेको पार्टी हो भनेर बुझिने अवस्था थियो, यसमा लुकाउनुपर्ने कुरा छैन । तर उहाँले राम्रो माला उन्नका लागि युवालाई जोड्दै अगाडि बढ्नुभएको छ’ गौतमले भनिन्, ‘कहाँ गल्ती गर्छन् र आलोचना गरौंला, प्रहार गरौंला भनेर बस्ने पनि छन् । नियत स्वस्थ भएकाले हामी यस्ता आलोचनाबाट आत्तिदैनौं ।’ 

रास्वपामाथिको प्रश्नलाई उनी आलोचनात्मक चेत र आफूहरूमाथिको भरोसा ठान्छिन् । 

‘नेतृत्वलाई विवादमा ल्याउँदा, मुछ्न खोज्दा नमीठो लाग्छ, त्यो मानवीय संवेग नै हो, तर हामी चित्त दुखाउँदैनौं किनकि जनताको आलोचनात्मक चेत हुनु भनेको हामीप्रति निरन्तर खबरदारी हुनु हो,’ गौतम भन्छिन्, ‘प्रश्न पहिल्यैदेखि पुराना दललाई गरिएको भए आजको हाम्रो समाजको परिस्थिति बेग्लै हुन्थ्यो, त्यसैले हामीमाथि उठेका प्रश्न र अपेक्षाले हामीलाई परिपक्व र परिष्कृत हुन सघाउँछ ।’

पछिल्लो समय सहकारीका विषयमा नेतृत्वलाई अनावश्यक मुछ्ने काम भएको गुनासो उनले गरिन् ।

चुनौती २: पुराना दल र शक्ति राष्ट्रको बेवास्ता  

राजनीति शास्त्रको अध्येताका लागि रास्वपाको उदय रहस्य जस्तो छ किनकी राजनीतिमा स्थापित हुन ७० वर्षको इतिहास भएका कांग्रेस र एमालेलाई पनि पटक–पटक परीक्षामा खरो उत्रिनुपरेको थियो । तर रविको रास्वपाले पार्टी गठनको छोटो समयमा नै आफूलाई चौथो शक्तिका रूपमा उभ्याउँदै परम्परागत दलको जग हल्लाउने छनक देखायो । 

नागरिकले वर्षौंदेखि भोग्दै आएका बेथिति, अन्याय र अत्याचारविरुद्ध नागरिकलाई मीठा र आकर्षक नारा दिएर रविले यो शक्ति आर्जन गरेका थिए । तर कच्चा व्यवहारका कारण रास्वपालाई ठूला दल र बाह्य समुदायले पनि सिरियसली नदिएको देखिन्छ । शुरूआतमा रविको शक्तिलाई हेर्दै उनलाई बलियो हिस्सा दिन एमाले र माओवादी तयार भएका थिए । तर एकपछि अर्को विवादमा फसेपछि रास्वपालाई सिरियसली लिन दलहरू तयार भएनन् । 

कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा दलका शीर्ष नेतालाई बोलाएर अन्तरक्रिया गर्‍यो, तर चौथो ठूलो दलको नेताका रूपमा रविलाई बोलाइएन, जबकि रविभन्दा ९ र ११ सीट साना जसपा र नेकपा एसका नेतालाई समेत बोलाइएको थियो । 

रास्वपालाई दलीय स्वीकारोक्ति नदिने मित्रराष्ट्र पनि छन् । भारतीय विदेशमन्त्री अघिल्लो साता नेपाल भ्रमणमा आउँदा रास्वपाभन्दा साना दलका नेताहरूलाई पनि भेटे, तर रविसँग भेट गर्न चाहेनन् । यसले पनि रविको पार्टीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले सिरियसली नलिएको देखिन्छ ।

नारायणगढ–बुटवल यात्राका क्रममा रविसहित रास्वपा नेताहरू

चुनौती ३ : आन्तरिक घेराबन्दी र उकुसमुकुस

रास्वपा रविकै ब्रान्डमा स्थापित भएको पार्टी हो, तर पार्टीका रूपमा अगाडि बढिसकेपछि सधैं एकै व्यक्तिको लहड, सनक र मनोमानी चल्न सक्दैन । सामूहिक नेतृत्व प्रणालीले मात्रै पार्टीलाई जीवन्त बनाउँछ । तर, रास्वपाको हकमा यस्तो नभएको नेताहरूको दुखेसो छ । 

आफ्नो मात्रै ब्रान्डमा स्थापित हुनुको फाइदा उठाउँदै रविलाई हरेक विषयमा आफूअनुकूल निर्णय गराएको आरोप लाग्छ । नागरिकले भरोसा गर्ने र अरू दलभन्दा फरक पार्टी बनाउने घोषणा रविले गरेका छन्, तर पुराना दललाई चक्मा दिँदै विधानविपरीत एउटै र औचित्यविनाको सह–प्रवक्ता पदमा ३ पदाधिकारी मनोनीत गर्न पुगे । यसले पनि बोलाइ र गराइमा अन्तर रहेको देखाउँछ ।

‘जान्नेलाई छान्ने, अरूभन्दा फरक देखाउने नारा हामीले अगाडि सार्‍यौं, तर विधानविपरीत पद बाँड्ने काम हामीले गरेका छौं,’ रास्वपाका एक नेता भन्छन्, ‘सुन्दर भविष्यको सपना देखाउने पार्टी सकभर कहीँ चुक्नु हुँदैन, तर छोटो समयमा हामीले धेरै कमजोरी गर्‍यौं । आफूखुशी आसेपासेलाई पद बाँड्ने काम भयो । पार्टी निर्माणमा दुःख गरेकाहरूले अवसर नपाउने अवस्था आयो । यस्तै अवस्था रहे कसरी हामी आफूलाई अरूभन्दा फरक भन्न सक्छौं ?’

रास्वपामा रविको दबाब र प्रभाव कतिसम्म छ भने सार्वजनिकरूपमा उनको स्वस्थ आलोचना गर्ने हिम्मत समेत नेताहरूमा छैन । बैठकमै पनि आलोचनात्मक कुरा राख्ने स्थिति नरहेको सोही पार्टीका नेताहरू बताउँछन् ।

बैठकमा मोबाइल फोन लान नपाइने, मिडियामा सकेसम्म प्रतिक्रिया नदिन र दिइहाले पनि नेतृत्वको स्वस्थ आलोचना गर्न समेत नपाइनेसम्मको दबाब र रुलिङ भएको नेताहरू बताउँछन् ।

पदाधिकारी चयनका क्रममा डा. तोसिमा कार्की र सहकारी प्रकरण आएपछि विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको विषयमा उनीहरूमाथि पार्टीभित्रबाट दबाब दिइएको नेताहरू बताउँछन् । 

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएकोबारे एकपछि अर्को समाचार आइरहेका बेला श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको विषयले हल्लीखल्ली नै भएको थियो । 

‘यदि तपाईं कसैका लागि, समाजका लागि अथवा देशका लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनिदिनु होला,’ उनले लेखेका थिए, ‘यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनु होला ।’ यो स्टाटस सेयर गर्दा श्रेष्ठले सलाइको काँटी एकपछि अर्को जलेको तर बीचको एउटा पछि हटाउँदा बाँकी काँटी जल्नबाट बचेको तस्वीर राखेका थिए ।

धेरैले रविलाई नै लक्षित गर्दै श्रेष्ठले यस्तो लेखेको आकलन गरेका थिए । यसै विषयमा सञ्चारमाध्यममा समेत समाचार आए । श्रेष्ठ मात्रै होइन, रविसँग असन्तुष्ट हुने अरू पनि प्रभावशाली केन्द्रीय सदस्य र सांसद रहेको नेताहरू बताउँछन् । 

यसैले उनीहरूलाई पेलेर जानेभन्दा विश्वासमा लिएर जानुपर्ने अवस्थामा रवि छन् । अर्कोतिर रविकै ब्रान्डमा स्थापित भएको हुनाले उनैसँग खरो प्रतिवाद गरेर जान नेताहरूलाई गाह्रो परेको देखिन्छ । रविसँग श्रेष्ठको केही टसलजस्तो देखिएको आकलनका बीच श्रेष्ठले दुई दिनअगाडि उनीसँग भेटेको फोटो सार्वजनिक गरेका थिए । 

रविसँगको फोटो शेयर गर्दै श्रेष्ठले यात्रा सजिलो नभए पनि सबैभन्दा महत्त्वपूर्ण कुरा साथ रहेको बताएका छन् । 

‘हामीलाई थाहा छ, यो यात्रा सजिलो छैन भनेर, गन्तव्य महत्त्वपूर्ण कि गति महत्त्वपूर्ण, त्यो पनि थाहा छैन । तर एउटा कुरा थाहा छ, सबैभन्दा महत्त्वपूर्ण चाहिँ ‘साथ’ नै हो ।’ काठमाडौं ८ का सांसदसमेत रहेका श्रेष्ठको वार्षिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा रवि प्रमुख अतिथि बनेर पुगेका थिए ।

तोसिमा कार्कीले भने पदाधिकारी चयनमा असन्तुष्टि जनाउँदै ‘विधि ?’ भन्ने स्टाटस लेखेकी थिइन् । नेतृत्वको वरिपरी रहेकाले अवसर पाउने तर काम गरेकालाई अवसर नदिने विषयमा तोसिमा र विराज मात्रै होइन धेरै नेता असन्तुष्ट रहेको नेताहरू बताउँछन् । पद प्राप्तिभन्दा पार्टीगत प्रणाली र विषयमा फरक मत राख्दासमेत भित्रैबाट दबाबमूलक परिस्थिति उनीहरूले भोग्नुपरेको नेताहरूको दाबी छ । 

चुनौती ४ : प्रतिस्पर्धी शक्ति र दलको चुनौती

रविको रास्वपाले मिसन २०८४ भनेर दाबी गरे पनि पार्टीको संगठनात्मक संरचना, वैचारिक स्पष्टता, प्रतिस्पर्धी र पुराना दलको बलियो पकड र चुनौतीलाई चिर्नुपर्ने हुन्छ । तल्लो तहसम्मै अधिवेशन गरेर पार्टीलाई विस्तार गर्ने रास्वपाको तयारी छ । तर, गत निर्वाचनको नतिजाले उनीहरूको जनमत शहरकेन्द्रित रहेको देखिन्छ ।

परम्परागत नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाटै भड्किएका मतदाताको भोट रास्वपाले तानेको थियो । फेरि पनि यी भोट कायम राख्ने र बाँकी ठाउँमा पनि विस्तार गर्नुपर्ने चुनौती रास्वपामाथि छ । यसैले शब्दमा मिसन ८४ मा बहुमत प्राप्त गर्छौं भने पनि यसका लागि आधार तयार गर्नुपर्ने चुनौती छ ।

रास्वपाको अर्को चुनौती गत स्थानीय निर्वाचनबाट उदाएका बालेन, हर्क साम्पाङदेखि स्वतन्त्र जनप्रतिनिधिहरू पनि छन् । उनीहरूले पार्टी खोल्ने तयारी गरिरहेका छन् । स्थानीय तहमा जितेर कार्यकारी बन्दै देशदेखि विदेशसम्म हल्लाखल्ला गर्न उनीहरू सफल भएका छन् । तर, रास्वपाले सांसद बनेर प्रतिपक्षी भूमिका खेल्नेबाहेक काम देखाउने कार्यकारी फोरम पाएको छैन ।

पार्टीलाई सांगठनिक रूपमा चुस्त र वैचारिक रूपमा स्पष्ट पार्नुपर्ने चुनौती पनि रविमाथि छ । संघीयता, शासकीय प्रणालीजस्ता विषयमा प्रस्ट धार र मान्यता यही हो भनेर रास्वपाले ठोकुवा गर्न सकेको छैन । 

अर्कातिर सत्ताका अनुभवी दलको प्रहरी र प्रशासन सबैमा प्रभावकारी पहुँच छ । यी पार्टीभित्र सुध्रिने कि सक्किने भन्दैै सुधारको जबर्जस्त माग पनि उठिरहेको छ । केही न केही राम्रो काम गरे मात्रै आगामी चुनावमा राम्रो हुन नत्र सक्किने उनीहरूको आफ्नै मूल्यांकनले पनि पुराना दल सुधारको बाटोमा जाने प्रयासमा रहेको देखिन्छ । तर, सुध्रिने उतिसारो लक्षण भने देखिएको छैन ।

रास्वपाको अर्को चुनौती गत स्थानीय निर्वाचनबाट उदाएका बालेन, हर्क साम्पाङदेखि स्वतन्त्र जनप्रतिनिधिहरू पनि छन् । उनीहरूले पार्टी खोल्ने तयारी गरिरहेका छन् । स्थानीय तहमा जितेर कार्यकारी बन्दै देशदेखि विदेशसम्म हल्लाखल्ला गर्न उनीहरू सफल भएका छन् । तर, रास्वपाले सांसद बनेर प्रतिपक्षी भूमिका खेल्नेबाहेक काम देखाउने कार्यकारी फोरम पाएको छैन । यसैले काम देखाएर बालेनहरूले दल खोले भने स्वतन्त्र मत नै बाँडिने हो । यस्तोमा रवि र बालेनको पार्टी भिड्ने र फाइदा परम्परागत दललाई हुने अवस्था पनि उत्तिकै देखिन्छ ।

‘रविमाथि लागेका नागरिकता र राहदानीको आरोप नयाँ होइनन्, पुराना हुन् । यी आरोपपछि उपनिर्वाचनमा उनले आफूलाई झन् बलियो प्रमाणित गरेका छन् । सहकारीको विषयमा पनि उनीमाथि आरोप लागेको छ । यसमा प्रमाण पुगे एउटा कुरा, नत्र रविलाई फसाउन खोजेका छन् भन्ने एउटा भाष्य पनि छ,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेलले लोकान्तरसँग भने, ‘यति हुँदाहुँदै पनि अर्को चुनावमा बाजी मारिहाल्छन् भनेर अहिले नै भन्न हतारो हुन्छ, किनकि परम्परागत दलले आफूलाई कति सुधार्छन् । रविको पार्टीको अर्को चुनावसम्म संगठनात्मक स्वरूप, वैचारिक स्पष्टता, कार्यक्रमिक रोडम्याप र अघिल्लोपटक सीमित ठाउँमा देखिएको लहर मधेश, पहाड र उच्च पहाडमा विस्तार गर्न सक्छन् कि सक्दैनन्, यसमा भर पर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्