२५ जेठ २०८३, सोमबार
ठगका अनेक जुक्ति

ठग्ने काइदाः ‘बैंकको कर्मचारी हुँ’ भन्दै साढे १५ करोड ठगी, ५ वर्षअघि बैंक नै ठगेर फरार

माघ ७, २०८०
काठमाडौं
ठग्ने काइदाः ‘बैंकको कर्मचारी हुँ’ भन्दै साढे १५ करोड ठगी, ५ वर्षअघि बैंक नै ठगेर फरार

काठमाडौं प्रहरीले आइतवार एकजना ‘ठग’लाई पक्राउ गरेको छ । जसले ५ वर्षअघि सिंगो बैंक नै ठगेर फरार थिए । अहिले फेरि १५ करोड ६५ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । ती ‘ठग’ हुन् काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–३ का २८ बर्षीय अन्जान बराल । उनको ठगीको कथा पनि रोचक छ ।

उनलाई आइतवार काठमाडौं प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो । परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार उनले विभिन्न व्यक्तिलाई खाता खोल्न लगाएर ५ गुणा पैसा पाउने भन्दै ठगी गरेका थिए । ‘उसले विभिन्न व्यक्तिलाई ३५ दिनभित्र ५ गुणा पैसा पाइन्छ भन्दै ठगेको छ,’ एसएसपी खत्रीले भने । 

उनका अनुसार पहिला व्यक्तिहरूलाई शेयर खरिद गरिदिन्छु भन्दै २० हजार रुपैयाँ आफैँ राखिदिने र त्यसबापत केहीदिनपछि आफैँले ५ हजार हाल्दिने गरेका  थिए । पैसाको लोभमा उनीहरूले आफैँ लगानी गर्न प्रोत्साहित गर्ने त्यसपछि थोरै पैसा राखेर अरु झिकेर फरार हुने गरेका थिए । 

‘उनीहरूले पहिला शेयर वापत पैसा आएको विश्वास दिलाएर फेरि ५–७ लाख रुपैयाँ लगानी गर्ने र पैसा हालेपछि थोरै पैसा राखेर अरु पैसा निकाल्ने गरेका रहेछन्,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘उनीहरूले ती व्यक्तिहरूको मोबाइल नम्बर, बैंक खाता, बैंकिङ एप आफ्नो कब्जामा लिने गरेका छन् ।’ 

प्रहरीका अनुसार ‘पैसा खोइ ?’ भन्दै खोज्दै आउनेलाई अर्कै व्यक्तिको पैसा नभएको चेक दिने गरेका छन् । अन्जानसँगै अर्का गोविन्द घिमिरे पनि छन् । दुवैजना मिलेर मानिसहरूलाई ठग्ने गरेका छन् । रोचक त यो छ, उनले आफूलाई स्टान्टर्ड चार्टड बैंकको कर्मचारी भएको बताएर मानिसहरूलाई फसाउँदै आएका छन् । ‘हामी पक्राउ गर्न जाँदा बैंकमा कर्मचारीको कार्ड भिरेर बसेको थियो । पहिला त म बैंकको कर्मचारी हुँ भन्दै थियो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने । प्रहरीका अनुसार उनले बैंकमा बसेर त्यहाँ आउने मानिसहरूलाई पासोमा फसाउने गरेका थिए । 

अन्जान आफूले ठगी गरेको नभइ आफूलाई आफ्नो साथीले फसाएको दाबी गर्छन् । ‘मलाई गोविन्दले फसाएको हो । सबै उसले गर भनेको काम गरेको हुँ,’ अभियुक्त बरालले लोकान्तरसँग भने, ‘मेरो पनि पैसा फसेको छ हजुर !’

अन्जान गोविन्दसँग आफ्नो २८ लाख रुपैयाँ फसेको दाबी गर्छन् । आफ्नी आमाको जग्गा बैंकमा धितो राखेर पैसा गोविन्दलाई दिएको उनले दाबी गरे । ‘सर, आमाको जग्गा बैंकमा राखेर मैले गोविन्दलाई विभिन्न समयमा गरेर २८ लाख दिएको छु,’ अन्जानले लोकान्तरसँग भने । 

उनका अनुसार अदालतमा मिलाउने भन्दै गोविन्दले २८ लाख रुपैयाँ लिएका थिए । बैंक ठगी गरेको अभियोगमा १९ लाख ९९ हजार रुपैयाँ जरिवाना र २ बर्ष कैद सजाय भएको थियो । त्यो मुद्दा मिलाउने भन्दै लिएको अन्जानको दाबी छ । 

प्रहरी अधिकारीले भने २८ लाख रुपैयाँको विषय सत्य भएको तर नगद भन्दा पनि व्यक्तिहरूलाई ठगी गरेबापतको कमिसनबाट त्यती रकम कटाउने भनेर वाचा गराएर काम गरिरहेको पाइएको बताए । अन्जान आफैँले पनि १ प्रतिशत कमिशन आउने गरेको स्वीकारेका छन् । ‘हो, मलाई १ प्रतिशत कमिशन आउँथ्यो,’ लोकान्तरको प्रश्नमा उनले भने ।

प्रहरी अधिकारीहरूले भने अनुसार अन्जानले भनेका केही कुरा सत्य भएता पनि उनी पनि शेयरमा कारोबार गरेर पैसा आउने विषयमा ‘मास्टर माइण्ड’ उनी पनि भएको बताएका छन् । ‘उ पनि मास्टर माइण्ड हो । उसले नै ग्राहकहरुलाई कन्भिन्स गर्ने, ग्राहक खोज्ने काम गरेको छ,’ अनुसन्धानमा खटिएका एक अधिकरीले लोकान्तरसँग भने, ‘उसले नै ग्राहकहरूलाई फरक व्यक्तिको चेक बोकेर हिँडेको छ ।’ हुन पनि प्रहरीको अनुसन्धानमा सबै काम अन्जानले नै गरेको देखिएको छ ।

अन्जानकी श्रीमती बेलायतमा बस्दै आएकी छिन् । ‘तपाईंकी श्रीमती अमेरिकामा काम गर्नुनुहुँदो रहेछ किन यस्तो काममा लाग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले आफू पनि ठगिएको जवाफ दिएका छन् । 

त्यति मात्र होइन उनीहरूले ५ वर्षअघि जनता बैंक नै ठगेका थिए । प्रहरीले जनता बैंकको खातामा रहेको १ जना व्यक्तिको १९ लाख ९९ हजार रुपैयाँ ठगी गरेका थिए । २०७६ मंसिरमा अन्जान र गोविन्दसँगै कुमार तामाङ, सुवास श्रेष्ठ, सुमन पौडेल र मनिष घिमिरे पक्राउ परेका थिए । उनीहरूलाई उच्च अदालतको वाणिज्य इजलासले १९ लाख ९९ हजार जरिवाना र २ वर्ष कैद सजाय सुनाएको थियो । त्यसमध्येमा अन्जानलाई पनि २ वर्ष कैद सजाय तोकिएको थियो । त्यसयता उनी फरार थिए । गोविन्दलाई भने १ वर्ष कैद सजाय तोकेको थियो । न्यायाधीशद्वय खुशीप्रसाद थारू र किरणकुमार पोखरेलको इजलासले उनीहरूलाई ७७ चैत ३ गते  फैसला सुनाएको थियो ।  

प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले त्यो बेलामा पैसाको प्रलोभन पारेर ठगी गरेका थिए । प्रहरीले अनुसन्धानमा २ बोरा चेक बरामद गरेको थियो । ‘त्यो बेलामा बैंकको २ बोरा चेक बरामद भएको थियो । फैसलापछि बैंकले जलाएको थियो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकरीले लोकान्तरसँग भने ।

  
 

salt training

कमेन्ट गर्नुहोस्