२९ असार २०८३, सोमबार

सञ्चारकर्मी अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पित

माघ १०, २०८०
काठमाडौं
सञ्चारकर्मी अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पित

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आथित्यतामा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला र मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले सोमबार काठमाडौंमा संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । 

कार्यक्रममा उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँए । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितामा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गरे ।

यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनको सक्रियताको तारिफ गरेका थिए । 

प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गरिन् । 

पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताए । 

लेखक अधिकारी पत्रकारिताको कला-मनोरञ्जनका क्षेत्रमा कलम चलाउँदै आएकी छन् ।  उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरि’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । 

अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी दिइन् । ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु,’ उनले भनिन् । 

गीताको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । मिलाप पब्लिकेशन प्रालिले पाठकमाझ ल्याएको १९२ पेजको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्