३२ असार २०८३, बिहीबार

काठमाडौंमा फुटपाथ व्यापारी र नगर प्रहरीबीच घूस लेनदेन, दिनहुँ चल्छ यस्तो लुकामारी

कात्तिक २०, २०७४
 काठमाडौंमा फुटपाथ व्यापारी र नगर प्रहरीबीच घूस लेनदेन, दिनहुँ चल्छ यस्तो लुकामारी

काठमाडौं, १९ असोज – राजधानीका फुटपाथ व्यापारी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच घुसलेनदेन हुने गरेको पत्ता लागेको छ ।

फुटपाथमा व्यापार गर्ने व्यवसायीले सडक निगरानीका नाममा महानगरका प्रहरीले आफूहरुसँग पैसा असुल्ने, पैसा नदिए अनेक दुःख दिने, कहिलकाहिँ सामान लगेर फिर्ता नदिने तर घूसदिए सामान फिर्ता दिने गरेको खुलासा गरेका छन् ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी इञ्चार्ज बिष्णु जोशीले नगरप्रहरी घूसमा संलग्न रहेको स्वीकार गर्दै अहिले नगरप्रहरीमाथि नै निगरानी बढाएको बताएका छन् ।

फुटपाथ व्यापारीको आरोप र नगर प्रहरी प्रमुखको स्वीकारोक्तीले फुटपाथ व्यापारमा घूसलेनदेनलाई पुष्टि गरेको हो ।

सरकारी निकायले फुटपाथको व्यवसायलाई गैरकानूनी भने पनि त्यस्तो व्यापार रोकिएको छैन । सरकारी निकायको दोहोरो मापदण्डका कारण फुटपाथ व्यापार अव्यवस्थित, अपारदर्शी र भद्रगोल भएको देखिन्छ ।

काठमाडौं महानगरपालिकाभित्र व्यवसाय गर्ने फुटपाथ व्यवसायी र नगर प्रहरीबीच दैनिकजसो अनौठो लुकामारी हुने गरेको भेटिएको छ ।

खासगरी सरकारले गैरकानूनी भनेका फुटपाथ व्यवसायी मध्याह्नपछि सडकमा व्यापार गर्न आउँछन् । त्यति नै बेला नगर प्रहरी त्यहाँ पुग्छ । र शुरु हुन्छ दुवै पक्षको लुकामारी ।

लोकान्तरलाई प्राप्त जानकारीअनुसार नगरप्रहरीले सडक व्यवसाय नगर्न चेतावनी दिँदै दिनहुँजसो सडकबाट सामान उठाउने गर्छ ।

यस्तो छ खेल
लोकान्तरको सम्पर्कमा आएका एक फुटपाथ व्यापारीका अनुसार सवै फुटपाथ व्यापारी मिलेर एकजना ‘अगुवा व्यापारी’ वनाएका हुन्छन् ।

ती अगुवाको काम सवै फुटपाथ व्यापारीसँग हैसियत हेरेर रकम जम्मा गर्नु हुन्छ । उनले रकम जम्मा गरेपछि संकलित रकममध्येबाटै नगरप्रहरीसँग ‘डिल’ हुन्छ । अर्थात् संकलित रकममध्ये दैनिक केही रकम नगर प्रहरीलाई वुझाइन्छ । त्यसरी रकम वुझाए वापत नगर प्रहरीले फुटपाथको व्यापारप्रति आँखा चिम्लने गर्छन् ।

‘कहिलेकाहीँकाम देखाउनका लागि नगर प्रहरी आउने, हाम्रा सामान उठाएर लैजाने गर्छन्,’ नाम नबताउने शर्तमा अर्का एक फुटपाथ व्यवसायीले भने, ‘पछि हाम्रै ती अगुवाले नगर प्रहरीसँग ‘डिल’ गर्छन् । नगर प्रहरीले ती अगुवाबाट रकम असुल्छन् र हाम्रा सामान फिर्ता दिन्छन् ।’

काठमाडौं महानगरपालिका भने विकृति कहीँ कतै भए पनि खुलेआम भयो भन्नु गलत भएको बताउँछ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सडकमा भइरहेको व्यवसाय गैरकानूनी भएको बताउँदै यसको व्यवस्थापन गम्भीर चुनौतीको विषय भएको स्वीकार गरे ।

उनले काठमाडौं महानगरपालिका भित्रका यस्ता व्यवसायीलाई छिट्टै कानूनी दायरामा ल्याइने बताए ।

अर्को रहस्य
स्रोतका अनुसार काठमाडौं महानगरपालिकाले खटाएका प्रहरीहरूले नै योजनाबद्ध तरिकाले घूस लिने गरेका छन् । खासगरी विभिन्न क्षेत्रमा खटिने प्रहरीका इञ्चार्जले सबै व्यवसायीसँग निश्चित प्रतिशत घूस संकलन गर्ने गरेको पाइन्छ ।

घूस संकलनको जिम्मा एक अगुवालाई दिइएको हुन्छ । घूस दिएपछि व्यवसायीले निर्वाद तरिकाले सडकमा व्यापार गर्न पाउँछन् । यस्तो घूसबापत नगरप्रहरीका इन्चार्जहरूले मासिक लाखौं रुपैयाँ कमाउने गरेको स्रोतको दाबी छ ।

यस्तो छ व्यवसायीको बिजोग
सडकमा व्यवसायीहरूले सानो पूँजीबाट व्यापार शुरु गरेका हुन्छन् । उनीहरूले जीवनयापनकै लागि सानो पूँजीबाट शुरु गर्न सकिने व्यवसाय रोजेको वताउँछन् । तर सरकारी निकायले यस्ता व्यवसायीको संवेदनामाथि खेल्ने काम गरिरहेको साना व्यापारीको गुनासो छ ।

कतिपय घुम्ती व्यापारीहरूका सामान लगेर नगरप्रहरीले निर्ममतापूर्वक फिर्ता नगरिदिएका उदाहरण पनि भेटिएका छन् ।

काठमाडौंको अति व्यस्त क्षेत्र सुन्धारामा व्यवसाय सञ्चालन गर्दै आएकी सरस्वती खड्का भन्छिन्, ‘सडकमा व्यापार नगरिकन हाम्रो मुखमा माड लाग्दैन । आम्दानी हुने अरू कुनै काम छैन । बालबच्चा छन्, उनीहरूलाई पढाउन पनि परिहाल्यो । यस्तो अवस्थामा हामीले अरू के गर्न सक्छौँ ? तर प्रहरी र नगरपालिकाले हाम्रो समस्या बुझेका छैनन् ।’

रत्नपार्कमा व्यवसाय गर्दै आएकी अर्की व्यवसायी भीमा खड्काको दुःखेसो पनि उस्तै छ । ‘नगरपालिकाले साहै्र दुःख दिन्छ । बारम्बार लखेट्न आउँछ । हामीलाई गरी खान पनि दिँदैनन् ।’

प्रहरीले सधैंभरि आफूहरुलाई सताएको उनको गुनासो छ ।

‘भनेजस्तो व्यापार हुँदैन । त्यसमाथि चन्दा लिनेहरूले पनि दुःख दिएका छन् । सडकमा फोहोर मैला उठाउनेले पनि दुःख दिन्छन् । हामीले सबैतिरको सास्ती बेहोर्नुपरेको छ ।’

सरकारले व्यापार गर्ने ठाउँ दिए सडक छाड्न तयार रहेको खड्काले बताइन् । ‘हामीले गर्दा बाटो हिँड्नेलाई समस्या परेको छ भन्ने हामीलाई पनि थाहा छ । तर हामी गरीबलाई गरिखाने मेलो पनि त मिलाइदिनुप–यो नि !’

निगरानी बढाएका छौंः नगरप्रहरी

काठमाडौं महानगरपालिका नगरप्रहरी इन्चार्ज बिष्णु जोशीले नगरप्रहरी घूसमा संलग्न रहेको स्वीकार गरे । उनले अहिले नगरप्रहरीमाथि नै निगरानी बढाएको लोकान्तरलाई बताए ।

अहिलेसम्म कसैलाई काररबाही भने गर्न नसकेको उनको भनाइ छ । उनले सबै पेशामा बेइमानी हुने गरेको दाबी गर्दै प्रमाणसहित फेला परे आफूले कारबाही गर्ने बताए ।

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘हामीले यसअघि पनि पटक पटक नगरप्रहरीले घूसलिएर व्यवसायीलाई छोड्छ भन्ने कुरा सुनेका छौं । यो आरोप मात्रै हो कि साँच्चै हो, निगरानी बढाएका छौं ।’

साँझमा ठूलो संख्यामा व्यवसायीहरु सडकमा देखिन्छन नि भन्ने प्रश्नमा उनले नगरप्रहरीको केही कमजोरी रहेको स्वीकार गरे । उनले भने, ‘हाम्रा पनि केही आन्तरिक समस्या छन्, जसका कारण व्यवसायीलाई सडकबाट हटाउन निगरानी बढाउन सकेका छैनौं ।’

यद्यपि फुटपाथ व्यवसायीहरु भने बेलुका ५ बजेपछि महानगरपालिकाले व्यवसाय गर्ने अनुमति दिएकाले निर्धक्कसँग काम गर्न पाउनुपर्ने तर्क गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्