
लक्ष्मी सन्राइज बैंक लिमिटेड र अपर सेती हाइड्रो प्रालिबीच २० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता भएको छ । कास्कीस्थित सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता भएको हो ।
४.०२ अर्ब लागत रहेको उक्त सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै कम्पनीले गरेका छन् ।
अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि अनुमति पाएको थियो ।
साथै सोही वर्षको असोज १० गते नेपाल विद्युत् प्राधिकरणसँग खरिद–बिक्री सम्झौता गरेको थियो । कम्पनीको प्रवर्द्धकको रुपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना केसी ग्रुप रहेको छ ।
परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ ।
लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ । जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ ।
२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात् वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाटभन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रबर्द्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिने बैंकले जनाएको छ ।