२५ जेठ २०८३, सोमबार
बाँसबारी छाला जुत्ताको जग्गा हिनामिना प्रकरण

प्रहरी पुगेपछि फोन घुमाउन थाले अरुण चौधरी, नुहाउन र पूजा गर्न भन्दै कुराए

माघ १८, २०८०
काठमाडौं
प्रहरी पुगेपछि फोन घुमाउन थाले अरुण चौधरी, नुहाउन र पूजा गर्न भन्दै कुराए

काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गर्न सीआईबी टोली लाजिम्पाटस्थित निवासमा पुग्दा व्यवसायी अरुण चौधरी आराम गरेर बसिरहेका थिए ।

करिब मध्याह्न १२ बजे पुगेको प्रहरी टोलीले पक्राउ गर्न आएको बताएपछि उनी सँगै जान आनाकानी गर्न थाले । आफू कतै नजाने भन्दै यताउती फोन घुमाउन खोजे ।

उनको गतिविधि देखेर डीएसपी धर्म भण्डारी कड्किए । 'तपाईं यत्तिकै जान मान्नुहुन्न भने हामीसँग अरू तरिका पनि छन् ।'

यति भन्दा भन्दै उनले २/३ ठाउँमा फोन लगाउन भ्यए । 'उनले २/३ पटक फोनमा कुरा गरे, अर्को २/३ ठाउँबाट फोन उठेन,' स्रोतले भन्यो ।

त्यसपछि चौधरीले आफूलाई नुहाउन दिन आग्रह गरे । सीआईबीको टोली नुहाउन मञ्जुरी दियो ।

नुहाएर आएपछि पूजापाठ गर्न थाले । सीआईबी टोलीको नेतृत्व गरेका भण्डारीले छिटो गर्न आग्रह गरे । त्यसपछि परिवारका अर्का एक सदस्यले 'पूजा गर्न दिनुहोस्' भनेको प्रहरी स्रोतले लोकान्तरसँग बतायो ।

चौधरीले पूजा सके । उनले सीआईबीको टोलीलाई करिब ४५ मिनेट कुराएका थिए । पूजा सकेपछि उनले आफ्नै गाडीमा जाने अड्डी लिन थाले ।

केहीबेरको भनाभनपछि डीएसपी भण्डारी चौधरीलाई उनकै गाडीमा लैजान तयार भए ।

बिहीवार चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख समेत रहेका व्यापारिक साझेदार अजितनारायण सिंह थापा पक्राउ परेका हुन् ।

सीआईबीले प्रहरीले बत्तिसपुतलीबाट बिहीवारै पक्राउ गरेको हो ।

पक्राउ परेका अरुण चौधरी ग्रुपका सदस्य हुन् । चौधरीलगायतको समूहले बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो नाममा ल्याएका थिए ।

प्रहरीले यस विषयमा छानबिन शुरू गरेको थाहा पाएपछि उनी विदेश बस्दै आएका थिए ।

उनीहरूलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।

चौधरीको समूहले कागजात मिलाएर बाँसबारीको १० रोपनी जग्गा हडपेका थिए ।

पक्राउबाट जोगाउन चौधरी ग्रुपले राजनीतिक दबाब समेत सिर्जना गरेको स्रोतको दाबी छ ।

तर, सरकारी जग्गा हडप्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै गृहमन्त्री श्रेष्ठले चौधरीलाई पक्राउ गर्न निर्देशन दिएको स्रोतले बतायो ।

‘सरकारी जग्गा हडप्नेलाई जहाँबाट भए पनि पक्राउ गर्नू भन्ने गृहमन्त्रीको निर्देशनपछि चौधरीलाई पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो ।

राजतन्त्रको समयमा दरबारसँग निकट चौधरी समूहले राजनीतिक दल र सरकारी कर्मचारीसँगको मिलेमतोमा सरकारी जग्गा हडप्दै आएको थियो ।

यस क्षेत्रमा विनोद चौधरीले समेत २ हजार कित्ता जग्गा हडपेको खुलासा भएको छ । सीआईबीले उनलाई समेत खोजिरहेको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्